धनगढी उपमहानगरले सञ्चालनमा ल्यायो २८ बेडको आइसोलेसन

धनगढी । कोरोना कहर बढ्दै गएपछि धनगढी उप–महानगरपालिकाले बुधवार २८ वेडको आईसोलेशन संचालनमा ल्याएको छ । कोरोना संक्रमितहरुको उपचारका लागि उक्त आइसोलेसन सञ्चालनमा ल्याइएको उपमहानगरका मेयर नृपबहादुर वडले अक्षरपाटीलाई बताए ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उप–महानगरपालिकाले आईसोलेसन सञ्चालनमा ल्याएको हो । उप–महानगरपालिका १५ जुगेडास्थित जडिबुटी प्रशोधन केन्द्रमा निर्माण गरिएको आईसोलेशनमा संक्रमित बिरामी राख्ने काम सुरु भइसकेको छ ।

‘आईसोलेशनमा संक्रमितलार्य राखेर उपचार गर्न सुरु गरिसकेका छौँ’, नगरप्रमुख वडले भने, ‘आवश्यकता अनुसार बेड थप्दै जाने योजना छ ।’ हाल संचालनमा ल्याएको आईसोलेशनमा एक सय ५० वेडसम्म बनाउन सकिने नगरप्रमुख वडले बताए ।

प्रदेशको कोरोना अस्पताल भनिएको सेती प्रादेसिक अस्पतालमा ६५ वटा मात्रै आईसोलेशन वेड छन् । प्रदेशभरिका संक्रमितको उपचार गर्नुपर्ने भएकाले त्यहाँ बिरामीले ठाउँ पाएका छैनन् । नगरप्रमुख वडले भने, ‘त्यसैले पनि हामीलाई आईसोलेशन निर्माणको हतारो भएको हो ।’ धनगढी उप–महानगरपालिकाले महिलाका लागि धनगढीमा रहेको बि पोलिटेकमा १० वेडको ओइसोलेशन बनाउने तयारी गरिरहेको छ ।

धनगढी उप–महानगरपालिका कोभिड उप–समितिका संयोजक नारायण प्रसाद बरालले जटिल अवस्थामा रहेकालाई मात्रै आईसोलेशनमा राखेर उपचार गरिने बताए ।

धनगढीमै प्रदेश सरकारको अस्थायी राजनधानी भए पनि सुदूरपश्चिम प्रदेश सरकार भने कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा भने उदासिन देखिएको छ । सीमाबाट स्वदेश आउनेहरुको परीक्षणसम्म नगरेको प्रदेश सरकारका कारण यतिबेला सुदूरपश्चिमभरि कोरोना संक्रमण उच्च भएको छ । प्रदेशमा करिब १३ भन्दा बढी संक्रमितको संख्या पुगिसकेको छ ।