गोकर्णेश्वरको बजेट एक अर्ब ८७ करोडको

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले आगामी वर्ष २०७७÷२०७८ का लागि एक अर्ब ८७ करोडको बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

नगरसभाको बुधबार शुरु भएको बैठकमा नगर प्रमुख सन्तोष चालिसेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उपप्रमुख शान्ति नेपालले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन ।

नीति तथा कार्यक्रम र बजेटमा नगर सभा सदस्यले विचारसहित छलफल गरेपछि पारित हुने कार्यक्रम रहेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए ।

नगरपालिकाको नीति तथा कार्यक्रममा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य एवं शिक्षा क्षेत्रका लागि उच्च प्राथमिकता दिने, घरभाडा करमा ५० प्रतिशत छुट, संस्थागत विद्यालयका विद्यार्थीलाई पनि पुस्तक खरिदमा ५० प्रतिशतसम्म छुट दिने लगायत विषय समावेश गरिएको छ ।

नगरसभाको चौँथो बैठक उद्घाटन समारोहमा काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्ण राईले विकास निर्माणका काममा तीनै तहका सरकारको समन्वयमा काम हुनुपर्ने बताए ।