थपिए ४३४ कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ११ हजार नाघ्यो

काठमाडौं । गएको २४ घण्टामा चार सय ३४ कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप चार सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार एक सय ६२ पुगेको छ । २४ घण्टामा थप तीन सय १२ जना उपचारपछि निको भएर घर गएका छन । यो सहित डिस्चार्ज हुनेको संख्या २६ सय ५० पुगेको छ ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ६ हजार पाँच सय ४३ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने पिसिआर परीक्षणको सङ्ख्या १ लाख ९९ हजार सात सय ३७ पुगेको छ। नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।