रुडुकद्वारा कैलालीका केही क्वारेन्टिनमा फिल्टर र स्वास्थ्य सामग्री सहयोग

धनगढी । समाजसेवी तथा कांग्रेस नेतृ डा आरजु राणा देउवाको पहलामा धनगढी उपमहानगर र कैलारीका गरी २१ वडामा रहेका क्वारेन्टाइनमा खानेपानी फिल्टर र स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) की संस्थापक अध्यक्ष डा राणाले रुडुक कैलाली शाखामार्फत सहयोग गरेकी हुन्। जोखिम नियन्त्रण गर्न बनाइएका धनगढी उपमहानरपालिका र कैलारी गाउँपालिकाका केही वडाका क्वारेन्टाइनमा खानेपानी फिल्टर र स्वास्थ्य सामग्री वितरण गरिएको रुडुक कैलालीकी अध्यक्ष ममता शाहले बताइन्।

सरकारले क्वारेन्टाइनको उचित व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा थोरै भए पनि क्वारेन्टिान बसाइ सहज होस भनेर सहयोग गरिएको बताइएको छ । क्वारेन्टिनमा रहेकालाई शुद्ध पिउने पानीको सहजताका लागि सिल्भर फिल्टर तथा स्वास्थ्य सामग्री वितरण गरिएको रुडुक कैलालीकी महासचिव सुनिता रानाले बताइन्।

रुडुक कैलालीकी कोषाध्यक्ष प्रमिला लम्सालका अनुसार धनगढी उपमहानगरपालिकाका सबै वडा र कैलारी गाउँपालिकाका दुई वडाका क्वारेन्टाइनमा रहेकाहरूका लागि गम्छा, ब्रस, मञ्जन, नुहाउने साबुन, लुगाधुने साबुन, स्याम्पु, मास्क, मच्छर धुप र सेनेटरी प्याड प्रदान गरिएको छ। खानेपानी फिल्टर २४ थान र ५१७ जनालाई स्वास्थ्य सामग्री बितरण गरिएको हो ।