० लिला अनमोल
डराउनु आगोसँग, जंञ्जिरसँग डराउनु
हत्या गर्दैन मनले, शरीरसँग डराउनु
हुन त लाग्दो हो, पैतालामा छुवाउन पाए
सम्मान गरेको हो, त्यो शिरसँग डराउनु
बरु दुई झापड हानेको राम्रो, अपनत्व राखेर
घोचिरहने वचनको, तीरसँग डराउनु
आमाले भन्थिन, नबनाउनु आफूलाई कमजोर
चिन्ताले चितासम्म पुर्याउँछ, पिरसँग डराउनु
मैदानमा त बांगोटिङ्गो पनि, हिँडेकै छु जसैतसै
चढेपछि ओर्लिन गाह्रो हुन्छ, भीरसँग डराउनु
अरे ‘यार’ खेलबाड भएकै छ, यहाँ कत्ति कत्ति
डराउनु सिउँदोको, अबिरसँग डराउनु
(गजलकार रेडियो बिराट झापाकी प्रबन्ध निर्देशक हुन । उनका बासुरी कविता संग्रह, दुख्छ गजल संग्रह प्रकाशित छन)