भारतमा एकै दिन थपिए १८ हजार संक्रमित, संक्रमित संख्या पाँच लाख नाघ्यो

भारतमा कोरोनाभाइरसबाट संक्रमितको कूल संख्या पाँच लाख नौ हजार ४४६ पुगेको छ । त्यहाँ दैनिक १८ हजारभन्दा बढी संक्रमित भेटिन थालेका छन् ।

भारतमा निको हुने संक्रमितको संख्या पनि उच्च छ । अहिलेसम्म दुई लाख ९५ हजार ९१७ जना निको भएका छन् । एक लाख ९० हजार १९१ जना उपचाररत छन् ।

तर दैनिक संक्रमितको संख्या भने निरन्तर उकालो लागिरहेको छ । शुक्रबार त्यहाँ १८ हजार १८५ नयाँ संक्रमित भेटिएका छन् । यो एकैदिन भेटिएको संक्रमितको अहिलेसम्मकै ठूलो संख्या हो ।

भारतमा कूल १५ हजार ६८९ जनाको मृत्यु भएको छ । शुक्रबार ३८१ जनाको मृत्यु भयो । मृत्यु हुनेको संख्या अघिल्ला तीन दिनभन्दा शुक्रबार घटेको छ । गत मंगलबार त्यहाँ एकैदिन ४६८ जनाको मृत्यु भएको थियो ।