कोभिड–१९ प्रतिकार्य कार्यक्रम धनगढी नगरमा सुरु

धनगढी । धनगढी उप–महानगरपालिकाले संचालनमा ल्याएका क्वारेन्टिन र आइसोलेशन ब्यबस्थापनमा सहयोग पु¥याउन कोभिड–१९ प्रतिकार्य कार्यक्रम सुरु गरिएको छ ।

जिआईजेडको संयोजन संघीय गणतन्त्र जर्मन राजदूतावास र नेपाल रेडक्रस सोसाईटी कैलाली जिल्ला शाखाको साझेदारी तथा धनगढी उप–महानगरपालिका संगको समन्वयमा कार्यक्रम सुरु भएको हो ।

कोभिड–१९ प्रतिकार्य कार्यक्रमको उद्देश्य भनेको क्वारेन्टिन र आइसोलेशनमा खानेपानीको ब्यबस्थापन, सरसफाई र त्यहाँ उत्पादन हुने फोहर मैलाको ब्यबस्थापन गर्ने हो । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, ‘यस कार्यक्रमले हामीलाई क्वारेन्टिन ब्यबस्थापनमा राहत पुग्ने छ ।’

नगरप्रमुख वडले कार्यक्रम संचालनका लागि धनगढी उप–महानगरपालिकालाई छनौट गरेकोमा जिआईजेड , संघीय गणतन्त्र जर्मन राजदूतावास र नेपाल रेडक्रस सोसाईटी कैलाली जिल्ला शाखालाई धन्यवाद दिए ।

नेपाल रेडक्रस सोसाईटी कैलाली जिल्ला शाखाका सभापति तथा रेडक्रस केन्द्रिय सदस्य उत्तम जोशीले कार्यक्रम संचालनका लागि शनिबार मात्रै धनगढी उप–महानगरपालिकासंग समन्वयात्मक बैठक बसेको बताए ।

यो कार्यक्रम अन्तरगत क्वारेन्टिन र आईसोलेशनमा खानेपानीको ब्यबस्थापन, सरसफाई र त्यहाँ उत्पादन हुने फोहर मैलाको ब्यबस्थापनमा ६४ लाख बराबर रकम रहेको सभापति जोशीले जानकारी दिए । यसअघि पनि रेडक्रस कैलालीले क्वारेन्टिनका लागि विभिन्न सरसफाई सामग्री, झुल लगायत मनोपरामर्शका क्षेत्रमा थुप्रै काम गर्दै आएको छ ।