कोरोना सङ्क्रमणबाट नेपालमा २८ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुष भएको बताइएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा एक सय २० महिला र चार सय ३४ पुरष गरी कूल पाँच सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १२ हजार तीन सय नौ पुगेको छ ।

मन्त्रालयकाअनुसार नेपालका ७७ वटै जिल्लामा सङ्क्रमित भेटिएका छन् । पछिल्लो पटक रसुवाका आठ महिला र एक पुरुष गरी नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

एक सय ३६ जना डिस्चार्ज

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप एक सय ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये १८ महिला र एक सय १८ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या दुई हजार आठ सय ३४ पुगेको छ ।