विश्वमा झण्डै एक करोड संक्रमित, मृत्यु ह्नेको संख्या ५ लाख पुग्न आँट्यो, निको हुने आधाभन्दा बढी

एजेन्सी । विश्वमा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या ९९ लाख ५३ हजार दुई सय ६३ भन्दा बढी पुगको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

डब्लुएचओका अनुसार विगत २४ घण्टामा विश्वभर सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक लाख ७७ हजार भन्दा बढी छ । विश्वभर कूल सङ्क्रमितको सङ्ख्या ९९ लाख ५३ हजार दुई सय ६३ भन्दा बढी पुगेको छ । संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार लाख ९७ हजार नौ सय ७९ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको अघिल्लो दिनको तथ्यांकमा २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणको महामारीका कारण नयाँ सङ्क्रमित हुनेको सङ्ख्या एक लाख ६७ हजार ५६ रहेको थियो भने पाँच हजार तीन सय ३६ जनाको मृत्यु भएको थियो ।

विश्वमा कोभिड–१९ महामारीका कारण सबैभन्दा बढी सङ्क्रमित तथा मृतकको अमेरिकामा रहेको छ । यूरोपमा करिब २६ लाख सङ्क्रमित छन् । त्यस्तै एशियामा २१ लख २२ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।

बढी प्रभावित १० देश

विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक करोड पुग्दै लागेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ ।

विश्वविद्यालयको शनिबारसम्मको तथ्यांक अनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा छन भने दोस्रोमा ब्राजिल रहेको छ । बढी सङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्रमण सङ्ख्या निम्न रहेको छ ।

अमेरिका– २४ लाख ६७ हजार ५५४
ब्राजिल –१२ लाख ७४ हजार ९७४
रूस– ६ लाख १९ हजार ९३६
भारत– ५ लाख ८ हजार ९५३
बेलायत– ३ लाख १० हजार ८३६
पेरू– २ लाख ७२ हजार ३६४
चिली– २ लाख ६३ हजार ३६०
स्पेन– २ लाख ४७ हजार ९०५
इटाली– २ लाख ३९ हजार ९६१
चीन– ८५ हजार १७२