…र म पागल भएकी हुँ

—कविता—

Oलिला अनमोल

जब समय
उल्टो घुम्यो मेरो घडिमा
मेरा कामहरु उल्टा भए
मेरो दैनिकी उल्टो भयो ।

उल्टै भएर वर्तमान
मलाई मैले नै न चिन्ने भएँ
र पिएर स्वतन्त्रताको मदिरा
बन्द गर्दै हिँडे सडकहरु ।

आस्था चोरेर मन्दिरबाट
आधुनिकताको मुर्ति पुजेपछि
बजेनन घन्टिहरु अनुशासनका
र गुन्जिएनन गुम्बाहरुमा
ॐ माने पेमे हुँ ।

बिश्वास उखेलेर मस्जिदबाट
आतंकले खेलबाड गरेपछि
सुनिएन आवाज अल्लाहको ।

मस्तिको मसानसँग
साटेर मेरो इतिहास
झिल्के झाकृको झारफुक लगाएपछि
र म पागल भएकी हुँ ।

म उस्तो हो कि
मेरो दुनियाँ उस्तो हो ?
यहाँ इमान बिचलित भएकोछ
र त,
झुटको बिरुवा उमारेर फूलाउँछ ढकमक्क
झुठो सम्पन्नता को फूल
आडम्बर सजाएर छातिभरी
मेरो मुटु देखासिखीको श्वास फेर्छ ।

कुर्वानी गरेर दायित्व
मेरो रहर परिवर्तनको नारा लगाउँछ
यसरी मलाई हरेकपल
आफ्नै बेथितिहरुले हिर्काएपछि
र म पागल भएकी हुँ ।

पागल भएकी हुँ यसरी पनि
जब चर्चाको चुरोट सल्काएर आमाहरुले
गराए न्यूड फोटोसुट छोरीको
सामाजिक सन्जाल सजाएपछि
युग परिवर्तनको श्वास फेर्नेहरु
उत्तेजित भएकाछन वर्तमानमा
जोखेर सुन्दरतासँग
शरीरका भित्री अङ्गहरु
ग्ल्यामरको न्वारन गरेपछि
धुवाँ उडेर गयो
मेरो शरिरबाट लज्जाको,

र म चर्चाको चर्खामा घुमिरहेँ फनफनी
कुल्चिएर आफ्नै पैतालाले सँस्कार
उत्तराधुनिकताको सङ्खघोष भयो
अस्तित्व परिवर्तन भएर मेरो
घुम्यो मथिंगल फनफनी
र म पागल भएकी हुँ ।

हो हजुर म पगल भएकै हुँ
मानसिकता बिकृत भएपछि घरैभित्र
उछृङ्खलताको नदि बग्यो बाबुहरुमा
र दाहसंस्कार गरेर सम्पूर्ण अभिभावकत्व
मेरो अस्मितामा कुठाराघात भयो
प्रत्येक पल त्रासदिको तक्मा भिराएर घाँटिमा
आफ्नै बाबुले,
बैँशको क्रय बिक्रय गरेर
धर्म र नैतिकताको हत्या गएर हिडेपछि
र म पागल भएकी हुँ ।।

(लिला अनमोल, बिर्तामोड झापा)