कर्णालीमा ९३४ सङ्क्रमित निको भएर घर फर्किए

सुर्खेत । कर्णाली प्रदेशका दुई सय १४ जना कोरोना सङ्क्रमित निको भएर घर फेर्केका छन् । निको हुनेमा दैलेखका मात्रै दुई सय पाँच जना छन् । घर फर्कनेहरुमा दुई सय एक पुरुष र १३ महिला छन् ।

सबैभन्दा बढी दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट तीन महिला र एक सय २९ पुरुषगरी एक सय ३२ जना कोरोना निको भएर घर फर्केको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले बताएका छन ।

त्यस्तै, दैलेखकै डुंगेश्वर आइसोलेसन सेन्टरबाट सात महिला र ५६ पुरुष, दैलेख अस्पताल र नारायण आइसोलेसनबाट दुई महिला सात पुरुष, सुर्खेत सालकोट आइसोलेसनबाट एक महिला, सात पुरुष र ठाँटीकाँध आइसोलेसन दैलेख र रुकुमपश्चिम अस्पतालबाट एक÷एक जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका हुन ।

शनिबार दुई सय १४ ले कोरोना निकोभएसँगै हालसम्म कर्णालीमा यो सङ्क्रमणबाट निको भएर घर फर्कनेको सङ्ख्या नौ सय ३४ पुगेको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा शनिबार गरिएको पिसिआर परीक्षणमा सुर्खेत पञ्चपुरीका १५ महिनाका बच्चासहित सात जनामा कोरोना पुष्टि भएको बताउँदै महाशाखा प्रमुख डा तिवारीले कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार चार सय ४० पुगेको बताए ।