पत्रकारले भोग्नु परेको पछिल्लो समस्याप्रति विभिन्न सञ्चार सम्वद्ध संगठनहरु एकमुख

ऐनविपरीतका कदम तत्काल बन्द गर्न आग्रह, मिडिया हाउसलाई अल्टिमेटम

काठमाडौं । विभिन्न सञ्चारमाध्यमले कोरोना भाइरसको कारण देखाउँदै त्यहाँ कार्यरत श्रमजीवी पत्रकार÷सञ्चारकर्मी, मजदुर कर्मचारीलाई पेशाबाटै निस्काशन गर्ने, बेतलबी बिदा बस्न दबाब दिने, राजिनामा दिन बाध्य पार्नेलगायतका कार्यप्रति सञ्चारसम्बद्ध संगठनहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।

पछिल्लो समय नेपाल पत्रकार महासंघले अल्टिमेटमसहित सञ्चारगृहमा पत्राचार समेत गरेको छ । महासंघले सरोकारवाला संगठठनसँग बृहत् छलफल गरी दबाबमूलक कार्यक्रममार्फत् श्रमजीवीको पेशागत सुरक्षाका लागि गरिरहेको पहललाई विभिन्न संघसंगठनले सकारात्मकरुपमा लिएका छन ।

प्रेस संगठन नेपाल, नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार संगठन नेपाल, प्रेस नेपाल, जनपत्रकार संगठन नेपाल, प्रेस सेन्टर नेपाल, मधेशी पत्रकार समाज र लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले संयुक्त विज्ञप्तिमार्फत महासंघकै नेतृत्वमा थप दबाबमूलक कार्यक्रमको घोषणा गर्ने जनाएका हुन् ।

कान्तिपुर, नयाँ पत्रिका, अन्नपूर्णपोष्ट, राजधानी दैनिकलगायत दर्जनभन्दा बढी मिडिया हाउसले दर्जनौ पत्रकारलाई दबाबमूलक विदामा बस्न लगाएको, विदा दिएको र जागिर छोड्न बाध्य पारेकोप्रति यी संगठनहरुले गम्भिर आपत्ति जनाएका छन ।

श्रमजीवीका गम्भीर समस्या देखिएकाले मिडिया सञ्चालकले श्रमजीवी पत्रकार ऐनविपरीतका कदम तत्काल बन्द गरेर सहजतापूर्व श्रमजीवीलाई काम गर्ने वातावरण निर्माण गर्न ती संगठनको माग छ । नेपाल सरकार सञ्चार मन्त्रालयलगायत सबै सम्बन्धित निकायलाई कानूनसम्मत ढंगले समस्याको समाधानका लागि पहल गर्न आग्रहसमेत गरिएको छ ।

‘कोरोना भाइरस महामारीका कारण बन्द हुन पुगेका साना तथा स्वरोजगारमुखी मिडिया तथा रोजगारी गुमाउन पुगेका पीडित श्रमजीवी पत्रकारका लागि ‘विशेष आवधिक राहत प्याकेज’को व्यवस्था गर्न पनि सरकारसँग जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । श्रमजीवीको श्रमको उचित सम्मान र पेशागत सुरक्षाका लागि सशक्त आन्दोलनमार्फत दबाब दिन बाध्य हुने संठनले जनाएका छन् ।