प्रधानमन्त्रीले भनेः कृषि उत्पादन बढाएर कोरोनाको असर कम गर्न सकिन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रुपमा रहेको कृषि क्षेत्रको उत्पादन वृद्धि गरेरै कोरोनाका कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने बताएका छन ।

ओलीले १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा सोमबार दिएको सन्देशमा सदुपयोगको सिद्धान्तअनुसार जमिन खेर नफाल्ने, बाँझो नराख्ने तथा अत्यधिक उत्पादन र प्रतिफल दिनेगरी खेती गर्ने, माटो र बालीको बीचमा तादात्म्यता मिलाएर उत्पादन वृद्धिमा केन्द्रित हुनु जरुरी भएको उल्लेख गरे ।

ुयसका निम्ति सबै ठाउँमा धान बाली नै लगाउनुपर्छ भन्ने छैन, धान लगाएर बढी प्रतिफल लिन सकिने ठाउँमा धान लगाउने र अरु प्रकारका जमिनमा अन्य जुनसुकै बाली लगाए पनि हुन्छ, तर त्यस बालीले अधिक उत्पादन भने दिनै पर्छ,ु सन्देशमा भनिएको छ ।

उनले ुधान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धिु भन्ने उद्घोेषका मनाइएको धान दिवसमा कृषिमा आधारित यस प्रतिकात्मक दिवसको आयोजनाले धान उत्पादनमा वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भरतातर्फको हाम्रो राष्ट्रिय गन्तव्यलाई सार्थक बनाउन मद्दत पुग्ने विश्वास पनि व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूति गर्नु लोककल्याणकारी राज्यको दायित्व भएको पनि बताए । उनले सोही अनुरुप हाम्रो संविधानमा खाद्यसम्बन्धी हकलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको जानकारी दिँदै यस हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभूतासम्बन्धी ऐन, २०७५ जारी भइसकेको उल्लेख गरे ।

ऐनले हरेक नागरिकको खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभूतालाई कानूनी अधिकारका रुपमा स्थापित गरेको र भोकमरीको अन्त्य गर्नेलगायत दिगो विकासका लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय प्रतिबद्धता र कृषि विकास रणनीतिको कार्यान्वयनमार्फत खाद्य र पोषण सुरक्षाको अवस्थामा सुधार ल्याउने हाम्रो राष्ट्रिय प्रतिबद्धता पनि स्पस्ट रहेको पनि उनले जानकारी दिए ।