देशभर कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो, काठमाडौंमा बुधबार थप १७ जनामा कोरोना पुष्टि, देशभर कोरोनाबाट आजसम्म मर्नेको संख्या ३० पुग्यो

काठमाडौं । आज मात्रै देशभर थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म १४ हजार ४६ जना संक्रमितमध्ये ३० जनाको मृत्यु भएको छ । संक्रमितमध्य ४ हजार ६ सय ५६ जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।

थप एकको मृत्यु
कोरोना भाइरस संक्रमणबाट बुधबार एक जनाको मृत्यु भएको छ । अछाम जिल्ला रामारोशन गाउपालिका–५ का ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । उनका अनुसार तीं पुरुषको असार १४ गते सोही ठाउँको वयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक असार १३ गते श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । मधुमेह रोगको समस्या रहेको उनको यही असार १६ गते संक्रमण भएको पृष्टि भएको थियो । उनीसँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।

काठमाडौंमा थपिए १७ संक्रमित
काठमाडौं उपत्यकामा बुधबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तीं मध्ये काठमाडौंका ५ महिला र ६ पुरुषमा संक्रमण देखिएको छ । ललितपुरका ३ महिला र २ पुरुष र भक्तपुरका एक महिलामा कोरोना संक्रमण देखिएको छ ।