नागरिक दैनिकले बुझ्न नमानेपछि घुम्दै पत्रकार महासंघमै फिर्ता आयो चिठी

काठमाडौं । कोरोना कहर देखाउँदै लामो समयदेखि चलेका र आर्थिक उपार्जन पनि राम्रै गरेका देशका ठूला मिडियाले श्रमजीवी पत्रकार, मजदुर कर्मचारीलाई बेतलबी बस्न बाध्य बनाउने, आधा तलब कटौती गर्ने, तलब रोक्का गर्ने र जागिरबाट निकाल्ने समस्या बढेपछि नेपाल पत्रकार महासंघको ध्यान केन्द्रित भएको छ ।

पत्रकार महासंघले कान्तिपुर, नयाँ पत्रिका, नागरिक, अन्नपूर्ण, राजधानी दैनिक लगायतका मिडिया हाउसमा उचित जवाफ र समस्या समाधानका लागि केही दिन अघि पत्र समेत काटेको छ । साता दिनको अल्टिमेटम दिएर काटिएका पत्रबारे सम्बन्धित संस्थाका संचालकहरुले कुनै जवाफ नदिए पनि केही संचालकहरुले अनौपचारिक संवाद गरेको पत्रकार महासंघले जनाएको छ । तर नागरिक दैनिकले भने पत्रकार महासंघले हुलाकमार्फत रजिष्टर्ड गरेर पठाएको पत्र नै बुझ्न नमानेपछि उक्त पत्र महासंघ मै फिर्ता आएको छ ।

हुलाक कर्मचारी पत्र लिएर कार्यालयमा पुगे पनि पत्र नबुझिदिए पछि ुयस ठेगानामा लैजाँदा उता लगे उता लानु भने, उता लगे तल लानु भने, तल लगे माथि लानु भने, माथि लगे तल लानु भनी घुमाइरहेकाले र कसैले नबुझेकाले फिर्ताु भन्ने ब्यहोरा लेखेर पत्र महासंघ मै फिताए आएको छ ।

राज्यको चौथो अंगका रुपमा रहेको मिडिया क्षेत्रले आफ्नै संस्थामा कार्यरत पत्रकार कर्मचारीको सवालमा आएको पत्रमाथि गरेको यो व्यवहारले पत्रकार महासंघ सोचमग्न भएको एक पदाधिकारीले अक्षरपाटीलाई बताए ।

नागरिक दैनिक, नयाँ पत्रिका, कान्तिपुर, अन्नपूर्ण, राजधानी दैनिकमा कोरोना महामारीको कारण देखाउँदै दर्जनौँ पत्रकार कर्मचारीको रोजीरोटीमा समस्या सुरु गरेपछि पत्रकार महासंघले उचित कारण माग गर्दै आन्दोलनको चेतावनी दिएको छ । शुक्रबार दुई बजे महासंघले श्रमजीवी पत्रकारको सवाललाई लिएर काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गर्ने कार्यक्रम तय गरेको जनाएको छ ।