कोरोना कहरः अमेरिकामा कम्तिमा ४० लाख श्रमिकको पारिश्रमिक कटौती

एजेन्सी । संयुक्त राज्य अमेरिकामा निजी क्षेत्रमा कार्यरत कम्तीमा ४० लाख श्रमिकको पारिश्रमिक कटौती गरिएको त्यहाँका मिडियाले उल्लेख गरेका छन ।

वासिङ्टन पोष्टका अनुसार अमेरिकामा यसभन्दा अघिल्ला व्यापक मन्दीको समयमाभन्दा कोरोना महामारीको यो समयमा दोब्बर कटौती भएको जनाएको छ ।

अमेरिकी निजी क्षेत्रका श्रमिकहरूको पारिश्रमिक कम्तीमा दोब्बरको सङ्ख्यामा कटौती भएको सिकागो बेकर फ्रेठम्यान इन्स्टिच्युटका श्रम बजारबारे विश्लेषण गर्दै आएका अर्थशास्त्रीहरूलाई उद्धृत गर्दैै वासिङ्टन पोष्टले उल्लेख गरेको छ ।

पारिश्रमिक कटौती खासगरी श्वेत अमेरिकीहरूले चलाएका उद्योगहरूमा बढ्दो भएको पत्रिकाले उल्लेख गरेको छ । अमेरिकी श्रम बजारमा देखिएको यो अवस्थालाई हेर्दा अमेरिकी अर्थतन्त्रमा गहिरो आर्थिक संकटको संकेत मान्न सकिने उल्लेख छ ।

महामारीका कारण अमेरिकामा ६० लाखभन्दा बढी श्रमिकले पूर्णकालीन रोजगारीको चाहना राख्दाराख्दै पनि आंशिक रूपमा काम गर्नुपर्ने अवस्थामा पुगेको अमेरिकी श्रम मन्त्रालयको तथ्यांकले देखाउछ ।

न्यू जसीका डेनिज लेजीले भने, ‘मैले कामगर्ने एअर कन्डिसनसम्बन्धि व्यवसायिक संस्थाले मलाई मेरो साप्ताहिक पारिश्रमिकमा सात सय २० अमेरिकी डलरबाट घटाएर पाँच सय ७६ अमेरिकी डलर बनाइएको छ ।’ उनलाई महामारीका कारण अमेरिकामा पारिश्रमिक कटौतीको सामना गरिरहेका प्रतिनिधि पात्रका रुपमा मिडियाले प्रस्तुत गरेको छ ।

उनले भने, ‘वेतन कटौती अत्यधिक असामान्य बनेको छ । फर्महरूले सामान्यतया प्रशासनिक चुनौतीहरूको सामना गर्नेभन्दा पारिश्रमिक कटौतीलाई सहज समाधानका रूपमा लिएको पाइन्छ ।’