दलीय विवादको असर संसद अधिवेशनमा पर्नु आपत्तिजनकः काँग्रेस

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले क्षणभरमै संघीयसंसदको जारी अधिवेशन अन्त्य गरेकोप्रति काँग्रेसले आपत्ति जनाएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया भए पनि त्यसलाई अबलम्बन नगरी, कोरोना सृजित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि अन्य महत्वपूर्ण विधेयकहरुबारे टुंगोमा नपुगी अधिवेश अन्त्य गरिनु दुःखद भएको उल्लेख गरेका छन । विज्ञप्तिमा भनिएको छ, ‘सत्तारुढ दलभित्रको विवादको असर संसद अधिवेशनमा पर्नु दुःखद मात्रै होइन आपत्तिजनक पनि हो ।’

देशमा फैलिएको महामारीलाई लिएर उच्च गम्भीरताका साथ सिंगो संसदको साझा दृष्टि तय गर्नुपर्ने र परिमार्जित रणनीतिका साथ अघि बढ्न आवश्यक पहल चालिनुपर्ने बेला अधिवेशन हठात अन्त्य गरेर सरकारले घोर उदासिनता देखाएको पनि विज्ञप्तिमा उल्लेख छ ।