धेरै चिन्ताले मुटुरोग !

० विकलचन्द्र आचार्य

सँधै चिन्तामा रहिरहने मासिको दिमागको भित्रि भागको प्रभावले हृदयाघात हुने जोखिम बढाउछ । यो अमेरिकास्थित हार्बड विश्वविद्यालयले गरेको अध्ययनले देखाएको छ ।

दिमागको अमिगडाला भन्ने एक भाग जुन हाम्रो रिस र डर जस्ता भावनाको अभिव्यक्ति गर्ने ठाउँ हो, यसमा अधिक क्रियाकलाप हुने व्यक्तिमा मुटु र संचार सम्बन्धि रोग (कार्डियोभास्कुलर )को बिकास अरुलाई भन्दा चाडै भएको पाइएको छ ।

मुटुरोगको अरु जोखिमका तत्वहरु धूमपान र उच्च रक्तचाप जस्तै चिन्ता पनि एक प्रमुख रहेको कुरा अनुसन्धानकर्ताहरुले बताएका छन् । त्यसैले मुटुरोगको जोखिम भएका व्यक्तिमा चिन्ताको व्यवस्थापन गर्न सहयोग गर्नुपर्ने कुरा सान्दर्भिक ठानिएको छ ।

भावनात्मक चिन्ताले कार्डियोभास्कुलर रोगको जोखिमले मुटु र रक्त कोषिकामा पार्ने प्रभाबबारे पहिला थाहा थियो तर कसरी प्रभाव पार्छ भन्ने चाहि पुरा बुझिएको थिएन् ।

‘हाँसोले मसलको टेन्सनलाई घटाउदछ । श्वास प्रश्वासमा सुधार गर्दछ र मुटुको धड्कनलाई ठिक बनाउँछ । रगतमा इडोर्फिन पम्प गर्दछ । मन र दिमागलाई आनन्द दिन्छ । हाँसोले शरीरको चिन्ता कम गर्दछ । सम्भब भएसम्म हाँसो र खुशीको वातावरणमा समय व्यथित गर्ने प्रयास गरौँ’

यस अध्ययनअनुसार अमिगडालाले हड्डीको मासी (बोन म्यारो ) लाई अतिरिक्त सेतो रक्त कोषिका बनाउन संकेत दिन्छ, जसको कारणले आर्टरीहरु फुलिने या सुनिने हुन पुग्छ । यसले हृदयाघात, एन्जाइना र स्ट्रोक हुनसक्छ ।

अमिगडाला भनेको दिमागको एउटा भाग हो । जसले मजबुद भावनात्मक प्रतिक्रिया दिनको लागि सक्रिय बनाई दिमागलाई लड्न तयार बनाउने हो । अमिगडाला दिमागको दुई भागमा एक एक वटा हुन्छ, जुन हाडे बदाम आकारको कोषहरुको समुह मेडियाल टेम्पोरल लोब्स भन्ने दिमागको गहिराइमा रहेको हुन्छ ।

धेरै कामको भार, जागिरमा झमेला, गरिबी अवस्था, प्रतिकुल स्वास्थ्य, आफन्तको वियोग आदि जस्ता कारणहरुले गम्भीर चिन्ता हुनपुग्छ र यसले गर्दा डिप्रेसन लगायत अरु मनोभावनायुक्त रोग लाग्नुको कारण बन्न पुग्छ ।

मुटुरोग तथा स्ट्रोकको जोखिमलाई कम गर्न धुमपान त्याग्ने, उच्च रक्तचाप तथा उच्च कोलेस्ट्रोल तथा मधुमेहको नियन्त्रण गर्ने तथा तल भनिएको जीवनशैलीको सुझाबलाई आत्मसात गरि चिन्ताको सहि ढंगले व्यवस्थापन गरे मुटुरोगबाट बच्न या साबधान हुन सकिन्छ ।

जीवनशैलीको सुझाव
खुशी र स्वस्थकर हुनको लागि जीवनशैलीबारे जानकारी लिई यसलाई आत्मसात गर्नुपर्छ । जीवनशैलीमा सानो परिवर्तनले भविष्यमा स्वास्थ्यमा धेरै सकारात्मक प्रभाव पार्छ ।

नियमितव्यायाम
घटीमा ५ र ६ पल्ट हप्तामा २०–३० मिनेट व्यायाम गर्नुपर्दछ । एरोविक व्यायाम गर्नु राम्रो मानिएको छ । यो व्यायाम गर्दा हाम्रो पूरा शरीरको ठूलो अस्थिपन्जर मांशपेशीको उपयोग हुन्छ । अनि यसले शरीरमा अक्सिजन सक्षम तरिकाबाट सदैव माग गर्दछ । एरोविक व्यायामका उदाहरणहरूमा पौडी खेल्नु, साइकलचलाउनु, नाच्नु, दौडनु आदि पर्दछन् । छिटो हिड्नु अझै पनि सबै भन्दा वेस एरोविक व्यायाम हो । आफ्नो रुटिङमा कसरी नियमित व्यायाम गर्न सकिन्छ विचार गर्नुपर्दछ । नियमित व्यायामले शक्ति र मांशपेशीको तागत बढाउँदछ ।

व्यायाम गर्दा इन्ड़ोर्फिन रगतमा छोडिन्छन् । यो केमिकलले सकारात्मक सोच र खुसी बढाउँदछ । ब्यायामले कोलेस्ट्रोल र ट्राइग्लिसराइड लेभलतथा रक्तचापकमगर्न मद्दत गर्दछ । महत्वपूर्ण कुरा चाहि यस्तो व्यायामगर्दा धेरै बल जाने तर कम शक्तिको गर्नुपर्दछ । आफूलाई मनपर्ने कुनै काम गरे हुन्छ, जसले आफ्नो उमेर क्षमता, दक्षता अनुरुप पनि विचार गर्नुपर्दछ ।

स्वास्थ्यकर खाना
स्वस्थ्यकर खानाले, चिन्तासँग लड्न सुधार पुर्याउँछ । खानाले हाम्रो शरीरको प्रत्येक अंगहरूमा असर गर्दछ, मुटु, फोक्सो दिमाग आदिमा । स्वस्थ्य खानाले तन्दुरुस्तीको साथसाथै शक्ति, नसाहरूमा पोषण, रगत संचालनमा सुधार, श्वासप्रश्वासमा सजिलो, रक्तचाप कम, पाचन प्रणालीमा सहयोग, पक्षघात हुने जोखिमबाट कम, सामान्य स्वस्थ्यमा सकारात्मक र शान्त रहन मद्दत आदि गर्दछ ।

खानामा सँधै चिल्लो, चिनी, नुन, क्याफिन, मदिरा आदि कम खाने गरेमा स्वस्थकर बन्न सकिन्छ । दिनमा प्रसस्त फलफूल र सब्जी खानु पर्छ । शरीरलाई आवस्यक मात्रामा पानी पिउनु पर्दछ ।

आराम
आराम गर्दा किताब पढ्ने, आफूलाई आनन्द लाग्ने क्रियाकलापहरू गर्ने, साथीभाइसँग भेटघाट आदिले हाम्रो चिन्ताको लेभललाई कम गर्ने महत्वपूर्ण काम हुन्छ । यो कार्य दैनिक रुपमा गर्न सकेमा जीवन अझ सुन्दर हुन्छ ।

गहिरो निन्द्रा
बेचैन हुनु चिन्ताको उग्र रुप हो । जति थकाइ लाग्दछ उति चिन्ता बढ्छ र सुत्न गाह्रो पर्दछ । त्यसैले निन्द्रा ठूलो औषधी हो । जतिगहिरो निन्द्रा पर्यो शरीरमा स्फूर्ति आउँछ । नियमित रुपमा बेलुका चाँडै सुतेर बिहान चाँडै उठ्नु उत्तम हो ।

धूमपान त्याग्नु
धूमपानले विभिन्न किसिमका क्यान्सर, श्वासप्रश्वास, उच्च रक्तचाप र मुटुको रोगलाई निम्त्याउंछ । धुम्रपा नत्याग्नु नै स्वास्थ सुधार्नु हो । यसको लागि आफ्नो इच्छा शक्ति महत्वपूर्ण कुरा हो ।

मदिरा सेवन कम गर्ने ःयदि तपाई मदिरा सेवन गर्नु हुन्छ भने हप्तामा १४ युनिट भन्दा बढी सेवन गर्नु हुदैँन भन्ने बेलायती सरकारको सुझाब छ । अत्यधिक मदिरा सेवनले खास गरी रक्तचापलाई अधिक असर गर्दछ । यसले स्ट्रोक हुने जोखिमलाई धेरै बढाउँदछ ।
(१ युनिट . १ पेग व्हिस्की, १२५ मिलिलिटर वाइन, आधि पाइन्ट बियर)

वजनलाई ध्यान दिने
ठूलो भुँडी अथवा स्याउको जस्तो शरीरको बनोटले मधुमेह, क्यान्सर, उच्च रक्तचाप, बाथ आदिको जोखिम बढाउंछ । आफ्नो उचाई अनुरुपको तौल हुनुपर्छ । यसको लागि सामान्य नियमअनुसार आफ्नो उचाई जति इन्च छ त्यतिनै किलो तौल हुनुपर्छ भन्ने बुझ्नु पर्छ ।

समस्या बाँड्ने
नजिकको साथीभाइ, नातेदारलाई मनको चिन्ता या समस्या भन्ने, गुम्स्याएर नराख्ने र जति आवश्यक पर्दछ समय लिने र यसले समस्या समाधान गर्दैन तर यसले चिन्ताको लेभल कम गर्न अवसर दिन्छ । समस्याको बारेमा अरू विचार गर्न समय दिन्छ ।

मन खोलेर हाँसौ
हाँसोले मसलको टेन्सनलाई घटाउदछ । श्वास प्रश्वासमा सुधार गर्दछ र मुटुको धड्कनलाई ठिक बनाउँछ । रगतमा इडोर्फिन पम्प गर्दछ । मन र दिमागलाई आनन्द दिन्छ । हाँसोले शरीरको चिन्ता कम गर्दछ । सम्भब भएसम्म हाँसो र खुशीको वातावरणमा समय व्यथित गर्ने प्रयास गरौँ ।
जीवनशैली परिबर्तन गर्न कहिल्यै ढिलो हुँदैन । चिन्ता अहिले संसारमा मान्छेको स्वास्थ्यमा जोखिम बढाउने प्रमुख कारण बनेको छ । चिन्ताबाट न समस्याको हल प्राप्त हुन्छ न छुट्कारा नैैं । त्यसैले चिन्ताको समाधानका लागि समयमा ध्यान दिऔँ, स्वस्थ्य रहाँे ।