थपिए ७४० कोरोना संक्रमित, काठमाडौंमा एकको मृत्यु, नेपालमा संक्रमितको संख्या १५ हजार पार

काठमाडौं । गएका २४ घण्टामा नेपालमा थप सात सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै धेरै संख्या हो । यो संगै देशभर संक्रमितको संख्या १५ हजार दुई सय ५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । काठमाडौंको नयाँ बानेश्वरका ८५ वर्षीय बृद्धको १७ गते राति ११ बजेतिर निधन भएको हो ।

उनी उच्च रत्तचाप र पार्किन्सनका बिरामी थिए । छाती दुख्ने र पिसाब कम भएको भन्दै अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको र उनमा कोरोना संक्रमण पाइएको मन्त्रालयले जनाएको छ ।

८२३ डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा आइसोलेसन सेन्टरबाट आठ सय २३ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यससँगै डिस्चार्ज हुनेको संख्या ६ हजार १४३ पुगेको छ ।