काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरुको वरिपरि घुमेर नेता बन्ने सपना नदेख्न नेविसंघका नेताहरुलाई चेतावनी दिएका छन् ।
पूर्वसभापती स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीको अवसर पारेर नेविसंघले शुक्रवार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा देउवाले भने, ” स्कुल र गाउँमा नेविसंघको संगठन नगर्ने , बिद्यालयमा संगठन गर्न डराउने अनि पार्टी कमजोर भयो, संगठन सक्कियो भनेर राजधानीमा नेताहरुका घर घरमा गएर चाकरी र चाप्लुसीको भरमा नेत बन्ने दिन अब गए ।”
स्कुलमा संगठन गर्न गाउँ गाउँ जान र नेविसंघलाई बलियो बनाउन कार्यकर्ताहरुलाइ निर्देशन दिँदै उनले काठमाडौमा बसेर कांग्रेसको नेता बन्ने सपना नदेख्न नेविसंघ नेतृत्वलाई चेतावनी दिए ।
सभापति देउवाले नेविसंघ अहिले खोज्नुपर्ने अवस्था आएको बताए । आफू नेविसंघको अध्यक्ष भएर नै प्रधानमन्त्री भएको उल्लेख गर्दै देउवाले अहिलेको तालले यस्तो पद पाउन मुश्किल हुने ठोकुवा गरे।
”नेविसंघको अध्यक्ष भएको मान्छे म तीन तीन पल्ट प्रधानमन्त्री भइसकें। तपाईहरु हुन सक्नुहुन्छ यस्तो हिसाबले। तपाइहरुलाइ नेविसंघको नेता हु भन्न लाज पनि छैन ? नेविसंघ जहाँ पनि हार्या हार्यै छ। लाज छैन ?”
देउवाले नेविसंघको नेतृत्व गउँ गाउँ जान निर्देशनसमेत दिए।
कार्यक्रममा देउवाले प्रश्न गरे, ‘अहिले गाउँमा कहा छ नेविसंघ ? गाउँको विद्यालयमा छ ? नेविसंघ जहाँ पनि हार्याहार्यै छ, काठमाडौं आएर बढता भाषण गरेर केही हुँदैन। गाउँमा जानुस गाउँमा ।”