बझाङको केदारस्यू पालिकामा पहिरो जाँदा तीनको मृत्यु, ११ घर पुरिए

बझाङ । बझाङको केदारस्यू गाउँपालिकामा शुक्रबार राती आएको पहिरोले पालिकाको वडा नम्बर ८ को मेल्लेखमा रहेका केही घर पुरेको छ । उक्त पहिरोमा पुरिएकामध्य अहिलेसम्म तीन जनाको शब फेला परेको छ भने कम्तिमा चार जना हराइरहेको स्थानीयले जानकारी दिएको बझाङ प्रेस युनियनका अध्यक्ष रमानन्द जोशीले अक्षरपाटीलाई बताए ।

सदरमुकाम चैनपुरदेखि दुई घन्टा गाडीमा र तीन घन्टा पैदल हिँडेर पुगिने घटनास्थलतर्फ गाउँपालिकाका प्रतिनिधि, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली बिहानै हिँडेको र अझै पुगि नसकेको पनि पत्रकार जोशीले बताए ।

राती पहिरो आएकाले धनजनको क्षति बढी भएको अनुमान गरिए पनि त्यस क्षेत्रमा फोन सम्पर्क हुन नसकेकाले एकि विवरण आउन सकिरहेको छैन । घटनास्थलका लागि हिँडेको उद्धार टोलीले केही बेरामा आफूहरु घटनास्थल पुग्ने जानकारी गराएको जोशीको भनाइ छ ।

बाटोघाटोको असुविधा भएको क्षेत्र भएकाले उद्धारपछि उपचारका लागि हेलिकोप्टर मगाउने पहल भइरहेको गाउँपालिकाले जनाएको छ ।

अहिलेसम्म शव भेटिएका मध्ये ११ बर्षे प्रयाग जेठारा, ७ बर्षिया अस्मिता जेठारा हरेको स्थानीयलाई उद्धृत गर्दै पत्रकार जोशीले बताए । तेस्रो शवको भने पहिचान खुलेको छैन । पहिरोमा परी अन्य व्यक्ति पनि बेपत्ता भएको हुनसक्ने अनुमान स्थानीयहरुले गरेका छन । राती पहिरो आएकाले गोठमा बाँधेका बस्तुभाउ पनि मरेको अनुमान गरिएको छ ।