० यज्ञराज उपाध्याय
युरोप यसियाबाट बाटो भारतको हुँदै
आए सलह नेपाल बालीनाली चपाउँदै ।
सलह बलिया रैछन् घुम्दैछन् घुमन्त्य बनि
बेसार खाएरै होकि ? लागेन कोरना पनि ।
तराई र मधेसैमा खेतका आलिआलिमा
जमाए हैकमै आफ्नो गाउँका बालिनालिमा ।
गाउँको बालि सिध्याइ सिंहदर्बारमा पसे
झ्यालबाट छिरे भित्र घुमने कुर्सिमा बसे ।
चीनबाट मगाएको छोडेनन् ओखतीमुलो
राहत पनि नीलेछन् निभ्यो गरिबको चुलो ।
क्वारिन्टिन चपाएर धुलो पिठो बनाएछन्
पचेन खाएको धेरै डुङडुङ्ती गनाएछन् ।
परेका मुखमा आफ्ना पुछ्दै रछानका छिटा
चपाउँदै निली दिन्छन् अरबौँ नोटका बिटा ।
राखनु हुन्न धेरै दिन् बालीनाली चटाएर
लखेटौँ सलहैलाई रित्ता थाल ठटाएर ।
(छन्द अनुष्टुप)