बझाङको पहिरोमा पुरिएर ६ जनाको मृत्यु, एक अझै बेपत्ता, दर्जनौं पशुचौपाया पनि पहिरोले लग्यो

बझाङ । शुक्रबार राति बझाङको केरास्युँ गाउँपालिकामा गएको पहिरोले पुरेका ६ जनाको शव फेला परेको छ । पहिरोमा १७ घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको हो ।

केदारस्युँ ८ मल्लेसीमा गएको पहिरोमा परेर बेपत्ता भएकामध्ये ४४ वर्षीय राममती देवी जेठारा, उनका १२ वर्षीय छोरा प्रयाग जेठारा, १३ वर्षीया छोरी अस्मीता जेठारा, दले जेठारा, १५ वर्षीय सन्तु जेठारा र १५ वर्षीय शान्ति जेठाराको शव भेटिएको वडाध्यक्ष गणेश बोहरालाई उद्धृत गर्दै स्थानीय पत्रकार रमानन्द जोशीले बताए ।

पहिलोपछि २२ वर्षीय गिरी जेठाराको अवस्था अझै थाहा हुन सकेको छैन । सदरमुकाम चैनपुरदेखि पाँच घन्टाको दुरीमा रहेको घटनास्थलमा अबेर दिउँसो उद्धार टोली पुगेको थियो । जनप्रतिनिधि, स्थानीय र प्रहरीले उनको खोजी कार्य गरिरहेको छ ।

पहिरोमा परेर स्थानीयका २२ वटा भैँसी, ६५ वटा बाख्रा र २४ वटा गाईगोरु पुरिएका छन् । अविरल वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले १७ घर पुरिएका छन् । घर पुरिएपछि मानिसहरुको बिचल्ली भएको छ ।