कर्णालीमा निको भए एक हजार दुई सय कारोना संक्रमित

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणपछि निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार दुई सय बढी पुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न आइसोलेशनबाट २३ जना डिस्चार्ज भएसँगै कोरोना निको हुनेको सङ्ख्या १२ सय एक पुगेको हो ।

पछिल्लोपटक कोरोना जितेर घर जानेहरुमा दैलेको आठबीस आइसोलेशनबाट २० र प्रदेश अस्पताल सुर्खेतबाट तीन जना छन् । सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाद्वारा नियमित मिडिया ब्रिफिङमा पछिल्लो चौबिस घण्टामा छ जना कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले दैलेख जिल्ला अस्पतालस्थित प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा गरिएको परीक्षणमा जानकारी दिए ।

थपिएका सङ्क्रमितमध्ये सल्यानको दार्मा गाउँपालिकाका पाँच र दैलेखको डुंगेश्वर गाउँपालिकाका एकजना छन् । कर्णालीमा कूल सङ्क्रमितको सङ्ख्या एक हजार चार सय ८९ पुगेको छ । ६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, दुई सय ८२ जनामात्र आइसोलेशनमा छन् ।