सत्ता डगमगाएपछि ओली कित्ताकाटको अवस्थामा

सत्ता जोगाउन सडकको सकेत सहारा

O अक्षरपाटी विशेष

काठमाडौं । देश कोरोना महामरीका कहरमा पिल्सिरहेको छ । राहत, उपचार त परैको कुरा जनताले उचित परीक्षण समेत पाएका छैनन । जनताको अभिवावकका रुपमा रहेको सरकार र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भने आफ्नै विवादमा रुमल्लिएको छ । पार्टीभित्रको विवाद अन्ततः चरम उत्कर्षमा पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिवादी कार्यशैली, कोरोना महामारीप्रति संवदेनशील नहुनु, केही निश्चित व्यक्ति र समुहलाई मात्रै काखा गरेको र त्यसका कारण सिंगो पार्टी बदनाम भएको भन्दै पार्टीमा असन्तुष्टि बढ्दो थियो । पछिल्लो पटक ओलीले जननेता स्व मदन भण्डारीको जन्मजयन्तीमा ‘मलाई पदबाट हटाउन भारत सलबलाएको छ, राजधानीका होटेलमा चहलपहल बढेको छ’ भन्दै अमर्यादित र गैह्रकुटनीतिक अभिव्यक्ति दिएपछि पार्टीभित्रको विवाद सतहमा आएको हो ।

ओलीको कार्यशैली, कदम र अभिव्यक्तिपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल खुलेरै ओलीको विरुद्धमा उभिएका हुन । उनले ओलीलाई भारतले नभै आफूले पदबाट हटन भनेको प्रतिउत्तर दिएपछि नेकपाको विवाद सतहमा आयो । त्यसलगत्तै नेकपाको स्थायी कमिटीमा मात्रै होइन अध्यक्ष दाहालको अगुवाइमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, नेता बामदेव गौतमसहितका ३० भन्दा नेकपाका प्रभावशाली नेता ललितपुरको झम्सिखेलमा जमा भएर ओलीले स्थायी कमिटीको निर्णय मान्नुपर्ने धारणा बनाए ।

त्यसलगत्तै ओलीले चलिरहेको संसदको बजेट अधिवेशन हठात रुपमा बिहीबार अन्त्य गर्ने सिफारिस मात्र होइन विगतका परम्परा मात्र होइन असार २२ गतेका लागि तोकिएको संसद बैठक समेत लत्याउँदै राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेर राष्टपति कार्यालयजस्तो तटस्थ संस्थालाई मात्र विवादमा तान्ने काम भयो । उसो त केही समय अघि मात्रै ओलीले पार्टी र सरकारमा छलफल नै नगरि दल विभाजन र संवैधानिक निकायमा संम्बन्धि विधेयक ल्याएर राष्ट्रपतिबाट स्वीकृति गराएपछि राष्ट्रपतिलाई त्यतिबेलै तटस्थ नभएको आरोप लागेको थियो ।

तर आज ओली पार्टी र सरकारमै समस्यामा परेपछि भने उनले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरूसमेतलाई बोलाएर उल्टै राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरू भइरहेको दावी गरे । आफैले सरकारलाई अलोकप्रिय, पार्टीमा अलोकतान्त्रिक चरित्र देखाउँदै आएको आरोप उनी सम्बद्ध दलकै नेताहरुले लगाए पनि उनले भने यस्तो बेलामा आफूले मन्त्रीहरूलाई तपाई‌ंहरू कुन कित्तामा भनेर प्रश्न गर्नुपर्ने अवस्था आउन सक्ने र त्यसका लागि तयार रहन उर्दी जारी गरेको सूचना बाहिरिएको छ ।

दल विभाजन सम्बन्धि विधेयक, संवैधानिक निकाय सम्बन्धि विधेयक एकाएक ल्याउने, चलिरहेको संसद अन्त्य गराएर कोरोना महामारीको बीचमा जनताका आवाज नै सुनाउने ढोका बन्द गर्ने र पार्टीको स्थायी समितिमा पनि उपस्थित हुन अटेर गरेर पार्टीभन्दा माथि देखिने शैली आफैले प्रस्तुत गरे पनि ओलीले शनिबार अबेरसम्म चलेको मन्त्रीहरुसँग चलेको छलफलमा भने ‘मेरा र राष्ट्रपतिका विरुद्ध षडयन्त्र भइरहेका छन । षड्यन्त्रहरूलाई मैले बाइफोर्स, बाइस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ’ भन्दै घुमाउने भाषामा ओलीजे उप्रान्थ थप असंवैधानिक र अलोकतान्त्रिक कदम चाल्न सक्ने संकेत देखाएको एक छलफलमा सहभागी मन्त्रीहरुकै भनाइ छ ।

उनले ‘बाइफोर्स र बाइस्टेप’ भनेर पुनः विधेयक ल्याउने वा अन्य कुनै असंवैधानिक कद उठाउन सक्ने संकेत गरेको हुनसक्ने राजनीतिक विश्लेषकहरुको भनाइ छ । सत्ता र पार्टीमा आफू कमजोर बनेपछि ओलीले भोलीको तयारी स्वरुप नै नेकपा एमाले नामको पार्टी तर्दा प्रक्रियामा लगेको दावी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गरेका छन । अहिले संकटकाल लगाइहाल्ने अवस्था नभएको तर विधेयक ल्याएर पुनः राजनीतिक अस्थिरताको प्रयास हुनसकने पनि उनले बताए ।

तर प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग तपाईंहरूले आफ्नो साइड रोज्नुपर्ने हुनसक्छ भन्दै सचेत गराउनुले उनी अब वार कि पारको मनस्थितिमा पुगेको बुझन त्यति गाह्रो छैन । ओलीले राष्ट्रपति विरुद्ध अविश्वासको प्रस्ताव आउने सम्भावनाको सूचनाका कारण संसद अभिवेशन अन्त्य गरेको भने पनि भित्रि रहस्य भने पार्टीले राजीनामा गर भनिरहेको अवस्थामा आफूले राजीनामा नगर्ने र त्यस्तो परिस्थितिमा संसदको सामाना गर्नु नपरोस भन्ने उद्देश्य रहेको हुनसक्ने विश्लेषकहरु बताउँछन ।

पाटीभित्रै कमजोर भएपछि ओलीले सत्ता टिकाइराख्न पछिल्लो समय सडकको समेत सहारा लिनुले उनी निकै कमजोर मनस्थितिमा पुगेको र झुक्दै नझुक्ने हठ पनि कायम भएकाले मुलुकमा जुनसुकै राजनीतिक दुर्घटना हुनसक्ने अनुमान पनि एकथरीको छ ।