नेकपाका दुई अध्यक्षबीच सोमबार फेरि भेट्ने सहमति, विवाद मिलाउन गोप्पे कार्यदल

काठमाडौं । प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा दिन परेको केपी शर्मा ओलीमाथि पार्टीभित्रैबाट दवाव परेपछि यतिबेला नेकपामा विवाद चर्किएको छ ।

ओलीले सत्ता संचालनमा देखाएको कार्यशैली, पछिल्लोपटक भारतलाई जोडेर दिएको अभिव्यक्तिपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले ओलीको राजीनामा भारतले नभै आफूले मागेको भन्दै सार्वजनिक रुपमै भनेपछि विवाद झन सतहमा आएको हो ।

पार्टीको स्थायी कमिटी बैठकदेखि दाहाललगायत शीर्ष नेताहरुले ओलीको राजीनामा माग गरेपछि पार्टीमा झन दरार आएको हो । ओलीको सहज राजीनामा र पार्टी एक बनाएर अघि बढन प्रयास स्वरुप आज केहीबेर अघि मात्रै दुई अध्यक्ष ओली र दाहालबीच वार्ता भएको छ । वार्तामा तमामौं विषयसँगै दाहालले राष्ट्रपतिविरुद्ध महाअभियोग लागाउने तयारी कसले गरेको हो ? भन्दै ओलीलाई प्रश्न समेत गरेको बताइएको छ ।

पार्टीभित्रको विवाद मिलाउनका लागि नेकपाले एक अघोषित समिति नै बनाएको नेकपाको तेस्रो तहका एक नेताले अक्षरपाटीलाई बताए । तीं नेताका अनुसार विवाद समाधान गरेर पार्टी एकता जोगाउने म्यान्डेडसहित ओली निकटका ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र दाहाल पक्षका वर्षमान पुन र जनार्दन शर्मालाई कार्यदलमा राखिएको छ । उनीहरु आन्तरिक गृहकार्यमा लागेको बताइएको छ ।

यद्यपि ओलीको अडान, कार्यशैली, बोली र व्यवहारले भने पार्टी एकताको सम्भावनालाई क्षिण बनाएको नेकपावृत्तमै चर्चा हुन थालेको छ ।