काँग्रेस पार्टी कार्यालयमा नेविसंघको आन्दोलन

काठमाडौं । नेपाल विद्यार्थी संघको मनोनित कार्यसमितिको कार्यकाल सकिन २६ दिन बाँकी हुँदा पनि पूर्णता नपाएको भन्दै नेविसंघ सम्बद्ध विद्यार्थी नेताहरु आन्दोलित भएका छन । पार्टी कार्यालय सानेपामा उनीहरुले कार्यसमितिलाई पुर्णता दिन र पार्टीभित्रका भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै आइतबार प्रदर्शन गरेका हुन ।

नेविसंघका पूर्व कोषाध्यक्ष शिव रिमालको नेतृत्वमा पार्टी मुख्यालय सानेपामा नेवि संघका केही युवाहरुले नाराबाजी समेत गरेका छन । समितिलाई पूर्णता दिन माग गर्दै सानेपा पुगेका नेविसंघका नेताहरूले पार्टी भित्रका भ्रष्टाचारीलाई पनि कारबाही गर्न माग गरेका हुन् ।

उनीहरुले नेविसंघलाई तत्काल पूर्णता दिएर महाधिवेशन उन्मुख गराउन पनि माग गरेका थिए । यसअघि गत बुधबार पनि उनीहरूले पार्टी कार्यालयमा कालोपट्टी बाँधेर विरोध जनाएका थिए । आज पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठकको मौका पारेर उनीहरुले विरोध जनाएका हुन ।