पहिरोले घर भत्काउँदा ६ महिने शिशुको मृत्यु

डोटी । डोटीमा पहिरोले च्यापिएर ६ महिने शिशुको ज्यान गएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका ४ सानागाउँको नुवाकोट टोलमा बस्ने भक्त नेपालीका ६ महिने छोरा छत्र नेपालीको घरपछाडिबाट असेको पहिरोमा च्यापिएर ज्यान गएको हो ।

अबिरल वर्षासँगै आइतबार बिहान आएको पहिरोले च्यापिएर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ । मृतक शिशुकी आमा २५ वर्षिया देवा नेपाली पहिरोले च्यापिएर घाइते भएको प्रहरीको भनाइ छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पुर्याइएको छ । उनको कम्मर भन्दा तल्लो शरीरमा गम्भीर चोट लागेको छ ।

पहिरो आउँदा घरभित्र भक्त नेपालीकी श्रीमती, दुई छोरा र एक छोरी गरी पाँच जना थिए । अरु भने भागेर बाँच्न सफल भएका छन् ।