डब्ल्यूएचओले स्वीकार गर्यो हावाबाट कोरोना फैलिनसक्ने कुरा

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने प्रमाणलाई स्वीकार गरेको छ ।

विश्वका दुई सयभन्दा धेरै वैज्ञानिकहरूले डब्ल्यूएचओलाई खुला पत्र लेखेर कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने बताएका थिए । उनीहरूले हावाबाट नफैले भन्ने डब्लूएचओको निर्देशिकालाई संशोधन गर्न सुझाव दिएका थिए ।

क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित भएको एक खुला पत्रमा ३२ देशका २ सय ३९ जना वैज्ञानिकहरुले कोरोना भाइरस हावामा अडिन सक्ने र कुनै व्यक्तिले स्वास फेर्दा ऊ संक्रमित हुनसक्ने प्रमाण प्रस्तुत गरेका थिए ।

हाल विश्व स्वास्थ्य संगठनले सार्स–कोभिड–२ (कोरोना) भाइरस मुख्यरुपमा संक्रमित व्यक्तिको मुखबाट निस्किने थुकका साना छिटाबाट सर्ने बताउँदै आएको छ । त्यसैले डब्ल्यूएचओले एक–अर्काबीच कम्तिमा ३.३ फुटको दुरीमा रहन र मास्क लगाउन सुझाव दिँदै आएको छ । यदि हावाको माध्यमबाट कोरोना संक्रमण फैलिने कुरा औपचारिक रुपमा पुष्टि भएमा व्यक्तिगत दुरीको नियम परिवर्तन गर्नुपर्ने हुन्छ ।