भारतद्वारा महादेव मस्त चतुर्देव क्याम्पसको भवन निर्माण

मुगु । नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत मुगुको रातापानीस्थित श्री महादेव मस्त चतुर्देव क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवन निर्माण सम्पन्न भएको छ ।

३५.११ मिलियन लागतमा निर्माण गरिएको उक्त भवनको गाउँविकास परिषद्, विद्यालय व्यवस्थापन समिति र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रतिनिधिद्धारा भिडियो कन्फरेन्स मार्फत उद्घाटन गरिको हो ।

सन् २००७ मा स्थापना भएको यो क्याम्पस समुदायको स्वामित्वमा रहेको शैक्षिक संस्थान हो । विश्वविद्यालय अनुदान आयोग (युजिसी) बाट स्वीकृति प्राप्त सो क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग आबद्घ छ ।

क्याम्पसले चार वर्षे स्नातकतहको पठनपाठन सञ्चालन गरेको छ । हुम्ला र बाजुरा लगायत २४ भन्दा बढी गाविसका विद्यार्थी अध्ययनरत यस क्याम्पसमा विद्यार्थीका लागि विविध छात्रवृत्तिको व्यवस्था पनि रहेको छ ।

नयाँ प्रशासनिक तथा शैक्षिक भवन निर्माणको कार्यान्वयन जिल्ला समन्वय समितिले गरेको हो । नवनिर्मित संरचनाले विद्यार्थीको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा रहेको यो परियोजनासँग जोडिन पाएकोमा भारत सरकारले खुशी व्यक्त गरेको छ ।