चारदिनसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर आइतबारसम्म वर्षकै भारी वर्षा हुने मौसम विदहरूले चेतावनी दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले ठूलो वर्षापछि बाढी पहिरोको खतरा उच्च हुने जनाएको छ । बाढी पहिरोको उच्च जोखिम रहेकाले मुलुकभर सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तै रेडक्रस लगायतका संस्थालाई तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

मौसमविद्हरूका अनुसार आजदेखि २८ गतेसम्म प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा मनसुन सुरु भएपछिको अहिलेसम्मकै बढी वर्षा हुने अनुमान छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ मा वर्षा भइरहेको छ ।

यस्तै दिउँसोसम्म प्रदेश १, प्रदेश २ , बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारतसँग सीमा जोडिएका नेपालका सीमा क्षेत्रमा न्यून चापीय रेखा नजिकिएकाले आगामी तीन दिन तराईमा व्यापक वर्षाको सम्भावनासमेत रहेको मौसमविद्ले जनाएका छन् ।