पोखराका विभिन्न स्थानमा पहिरोमा परेर ७ को मृत्यु, म्याग्दीमा ३२ जना वेपत्ता, उद्धारमा पनि कठिना

कास्की । बिहीबारको अविरल वर्षाका कारण पोखराका विभिन्न स्थानमा पहिरो जाँदा अहिलेसम्म कम्तिमा ७ जनाको मृत्यु भएको छ । पहिरोले पोखरा–१८ सराङ्कोट गोठादीस्थित टंकबहादुर थापाको घर पुरिएको छ । उक्त पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । दुई जना भने भागेर जोगिन सफल भएका छन ।

पहिरोमा ५० वर्षिय थापासँगै उनकी ४५ वर्षिय श्रीमती सोममाया थापा , नातिनातिना ११ वर्षिया ईशिका थापा मगर, ६ वर्षिय सुवान थापा मगर र तनहुँका शितल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

घटनामा परी घाइते भएका अन्य ५ जनाको उद्धार गरी मणिपाल शिक्षण अस्पताल र १ जनाको पश्चिमाञ्चल अस्पतालमा उपचारका लागि लगिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले घाइतेको उद्धार गरेका हुन ।

यस्तै हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरा–२६, पैतेडाँडाँमा पहिरोमा पुरिएर दुर्गाबहादुर सुनारको मृत्यु भएको छ ।

पोखरा–१८, छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी श्रीमती शान्ति मगर र छोरा सुशान मगर घाइते भएका छन् । उनीहरुको उद्धारपछि उपचार भइरहेको छ । यी विभिन्न पहिरोमा परेर १२ जना घाइते भएको प्रहरीको भनाइ छ ।

यता, पोखरा–५, पर्स्याङस्थित शिवालय मार्गमा जमीन भासिदा २ घर जोखिममा परेका छन भने रामघाटस्थित सेती नदी र पोखरा ४ फिर्के थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको छ । रामघाटका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

म्याग्दीमा ३२ बेपत्ता
उता म्याग्दीका विभिन्न स्थाना गएको पहिरोमा परि ३२ जना बेपत्ता भएको बताइएको छ । धौलागिरि, मालिका र मंगला गाउँपालिमा खसेको पहिरोमा ३२ जना हराइरहेको म्याग्दी प्रहरीको भनाइ छ ।

धौलागिरीको मराङमा मात्र २२ जना पहिरोमा हराइरहेको र धौलागिरिकै ताकममा २ जनाको ज्यान गइसकेको खबर आएको प्रहरीले जनाएको छ । मालिका गाउँपालिकामा पनि ८ जना र मंगला गाउँपालिकामा समेत गरी ३२ जना हराइरहेको खबर आएको प्रहरीको भनाइ छ । बाटोबाटोमा पहिरो खसेकाले उद्धारका लागि खटिन पनि कठिनाइ भएको प्रहरीले जनाएको छ ।