यातायात व्यवसायीले भनेः हामी गाडी चलाउँदैनौं, यातायातको राष्ट्रियकरण गरियोस

चाबी सरकारलाई बुझाउँदै व्यवसायी

काठमाडौ । सरकारले बिहीबार मात्रै ५० प्रतिशतसम्म भाडा बढाएर आधा सिट क्षमतामा सार्वजनिक यातायात अन्तर जिल्लामा चलाउन दिने निर्णय गरे पनि यातायात व्यवसायीले भने कुनै पनि हालतमा सार्वजनिक यातायात नचलाउने बताएका छन् ।

चार महिनाको अवधिमा उठ्नै नसक्ने गरी व्यवसाय डुबेकोले उनीहरुले चाबी सरकारलाई बुझाउने बताउँदै यातायात सञ्चालन गरेर देखाउन चुनौती समेत दिएका छन ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पाँचबुँदे मागसहित सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले यथास्थितिमा यातायात सञ्चालन गर्न नसकिने बताएका हुन ।

महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले सरकारले पूर्व तयारी विना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र खतरनाक कदम चालेको जिकिर गरे ।

आफूहरुलाई हचुवाका भरमा यातायात सञ्चालन गर्न भनिएको बताउँदै अधिकारीले भने, ‘हामी गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं ।’ आफूहरुको व्यवसाय चौपट भएको भन्दै अब यातायात सञ्चालन गर्न नसकिने बताए ।

अधिकारीले सरकारलाई सार्वजनिक यातायातको राष्ट्रियकरण गर्न पनि माग गरे । उनले भने, ‘यातायात सञ्चालन गर्ने हो भने सरकारले सबै यातायातको राष्ट्रियकरण गरेर चलाओस् ।’ राष्ट्रियकरण गर्दा आफूहरुले यातायातको लागत मुल्य पाउनुपर्ने उनले बताए । सरकारले आफूहरुलाई कर्जा एक वर्षपछि तिर्न मिल्ने बनाउन भन्दा पनि बेवास्ता भएको भन्दै अब कुनै हालतमा यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको बताए ।

सरकारले एकपछि अर्को निजी क्षेत्रलाई समाप्त पार्न लागिपरेको उनको आरोप थियो । सरकारले सञ्चालन गरेका यातायात डुबेको स्मरण गराउँदै अहिले ती संस्थाहरु जग्गा बिक्री गरेर खाने भाँडो बनेको बताए ।

निजी क्षेत्रको यातायात क्षेत्रमा ९९ प्रतिशत योगदान रहेको भन्दै यसलाई पनि ध्वस्त पारेर मुलुकलाई दुर्घटनातर्फ धकेल्ने काम भएको उनले बताए ।

यातायात व्यवसायी चार महिनायता मारमा परेको भन्दै मजदुरहरु पनि समस्यामा परेको बताए । यातायात मजदुरलाई तलब दिनका लागि भएपनि कर्जा छुट, केही अनुदान र सहुलियतमा ऋणको व्यवस्थाको माग उनले गरे ।

कार्यक्रममा महासंघका महासचिव भरत नेपालले सरकारले यातायात व्यवसायीहरुसँग कुनै संवाद नगरी एकपक्षीइ निर्णय गरी सार्वजनिक यातायात सञ्चालन गर्न भनेकोमा आपत्ती जनाए । उनले यातायात व्यवसायीको तत्कालको मागबारे जानकारी गराए ।