नेपालमा जम्मा संंक्रमितको संख्या १६ हजार ६ सय ४९, शुक्रबार थपिएका ११८ जनामा उपत्यकाका मात्रै ४२ जना

काठमाडौं । शुक्रबार एक सय १८ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा गरिएको नमूना परीक्षणमा उक्त सङ्ख्यामा कोरोना संक्रमित थपिएको बताए । यो सँगै आजसम्म नेपालमा संक्रमितको सङ्ख्या १६ हजार ६ सय ४९ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार गएको २४ घण्टामा निको भएर घर जानको सङ्ख्या एक सय २० छ । हालसम्म निको हुनेको सङ्ख्या आठ हजार ११ पुगेको छ । जम्मा संक्रमितमध्ये ४८ दशमलव एक प्रतिशत निको भएको डा गौतमले बताए ।

पछिल्लो २४ घण्टामा चार हजार आठ सय पाँच जनाको पीसीआर नमूना परीक्षण गरिएको थियो । हालसम्म पीसीआर विधिबाट दुई लाख ७५ हजार नौ सय ५१ जनाको परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा २३ हजार नौ सय १० जना र आइसोलेशनमा आठ हजार ६ सय तीन जना छन् ।

काठमाडौं उपत्यकामा शुक्रबार थपिए ४२ जना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा २८, ललितपुरमा १३ र भक्तपुरमा एक जनामा कोरोना संक्रमण देखिएको छ ।