बाढी पहिरोबाट देशभर २३ को मृत्यु, ३४ बेपत्ता

काठमाडौं । केही दिनदेखि आएको अविरल वर्षासँगै आएको बाढी, पहिरोमा परेर शुक्रबार मुलुकभर २३ जनाले मृत्यु भएको छ । बाढी पहिरोमा परेर ३४ जना बेपत्ता भएका छन।

बाढी पहिरो गएका कतिपय स्थानमा उद्धारकर्मी पुग्न नसकेको र कतिपय स्थानमा उद्धारको कार्य जारी रहेकाले अझै यकिन विवरण आइनसकेको गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

म्याग्दीमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । म्याग्दी, जाजरकोटमा उद्धार टोलीसमेत पुग्न नसकेकाले गाउँकै सानो उद्धार टोलीले काम गरिरहेको छ । हेलिकप्टर जाने तयारी गरिए पनि खराब मौसमका कारण जान नसकेको केन्द्रका प्रमुख मुरारी वस्तीले बताएका छन । स्थानीय तह, रेडक्रम, स्थानीय प्रशासनलगायतको समन्वयमा राहत तथा अन्य व्यवस्थापनको काम भइरहेको जनाइएको छ ।

म्याग्दीको धवलागिरि गाउँपालिकालगायत विभिन्न स्थानमा गएको पहिरोमा परेर तीन जनाको मृत्यु भएको र अन्य २९ जना वेपत्ता अवस्थामा रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले मिडियालाई जानकारी दिएका छन । प्रहरी टोलीले सो क्षेत्रमा उद्धार कार्य जारी राखेकोसमेत उनले बताए ।

जाजरकोटको चारेकोट गाउँपालिका–४ जिरीमा पहिरो जाँदा सातको मृत्यु भएको छ । त्यहाँ अन्य पाँच जना बेपत्ता छन् । कास्कीको सराङ्कोट, हेम्जा र पैतेडाँडामा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ, १७ जना घाइते छन् ।

लम्जुङको बेँसीशहर नगरपालिका–७ स्थित सातबिसेमा विपद्मा परेर तीन जनाको मृत्यु भएको छ । गुल्मी र रुकुममा पनि विपद्बाट तीन जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

बिहीबार पनि सिन्धुपाल्चोकको बाह्रबिसेलगायत क्षेत्रमा ठूलो भेलपहिरो खस्दा दुई जनाको मृत्यु भएको र अन्य २० जना अझै बेपत्ता रहेको केन्द्रले जनाएको छ ।

फाइल तस्बिर