काँग्रेसको कोरोना समितिसमक्ष विभिन्न व्यवसायीको गुनासोः सरकारले वास्ता नगरे स्थिति भयावह हुन्छ

काठमाडौं । यातायात व्यवसायीले अहिलेको अवस्थामा सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याउन नसकिने बताएका छन ।
शुक्रबार काँग्रेसले गठन गरेको कोरोना अनुगनम समितिसँग छलफल गर्दै नेपाल यातायात व्यवसायी महासंघले अहिलेको अवस्थामा यातायात सञ्चालन गर्न नसकिने बताएका हुन ।

उनीहरुले महिनौदेखि ग्यारेजमा थन्क्याएका गाडीहरु मर्मका लागि पुनःकर्जा, गाडी चालक, सहचालकलाई कोरोना बिमा, गाडी चालक, सहचालकलाई स्वास्थ्य सामग्री व्यवस्थापन गर्न पनि सरकारसँग माग गरेका छन । ऋणको व्यवस्था, बिमा र सुरक्षा सामग्रीको व्यवस्था भए मात्र सवारी चलाउन सकिने उनीहरुले समिति समक्ष बताएको समितिका सदस्य तथा काँग्रेस नेता एनपी साउदले अक्षरपाटीसँग बताए ।

उनीहरुले लकडाउनको समयको ऋणको किस्ता स्थगन गर्नुपर्ने माग राखेका थिए । समितिले आजै भिन्नि चेम्बरहरुसँग छलफल गरेको थियो । समितिले कोरोनापछि व्यपार व्यवसायको अवस्था र सुझाव लिएको सदस्य साउदले बताए ।

छलफलका क्रममा नेपाल ट्रेड युनियन काँग्रेसका सदस्यहरुले बैंकको ब्याज र किस्ता असार मसान्तसम्म तिरिसक्नुपर्ने तर मौद्रिक नीति चाहीँ किन साउन ७ गने ल्याउने भन्दै प्रश्न गरेका थिए ।

कोरोनापछि उत्पन्न परिस्थिति अनुगमन गर्न काँग्रेस सहमहामन्त्री डा प्रकाशसरण महतको संयोजकत्वमा गठित काँग्रेसको समितिले आजै पर्यटन व्यवसायीहरुसँग कोरोनाले पर्यटन क्षेत्रमा पारेको प्रभावबारे पनि छलफल गरेको थियो ।

पर्यटन व्यवसायीले काँग्रेसको समितिलाई प्रधानमन्त्रीको राहत कोषमा भएको रकम पर्यटन प्रवद्र्धनमा खर्च गर्न सुझाव दिन आग्रह गरेका छन । कोरोनाको अवस्था अझै लम्बिने र सरकारले पर्यटन क्षेत्रलाई कुनै राहत नदिए भयावह स्थिति आउने पर्यटन व्यवसायीले बताएको समितिले जनाएको छ ।

सरकारले तुरुन्तै पर्यटन व्यवसायको सुधारका लागि ठोस कदम नल्याए आफूहरु आन्दोलनमा उत्रने चेतावनी दिएको पनि समितिले जनाएको छ ।

समितिका तर्फबाट छलफलमा सदस्यहरु एन पी साउद, चन्द्र भण्डारी, मोहनबहादुर बस्नेत, नैनसिह महर, पर्यटन विभाग प्रमुख देवेन्द्रराज कँडेल, दिब्यराज भण्डारी, राष्ट्रीय योजना आयोगका पुर्व सदस्यहरु पोषराज पाण्डे, प्रभु बुढाथोकी, सरिन घिमिरेलगायत थिए ।