भारतमा कोरोना संक्रमण अमेरिका-ब्राजिलभन्दा पनि तीब्र, विश्वमा एक करोड २६ लाख २५ हजारभन्दा बढी संक्रमित

भारतमा संक्रमितको संख्या ८ लाख पुग्न थाल्यो

काठमाडौं । भारतमा कोरोना संक्रमण तीब्र रुपले फैलँदै गएको तथ्यहरु सार्वजनिक भएका छन । विशेषज्ञहरुले गणितीय गतिको आधारमा संक्रमण बढिरहेकोमा चिन्ता व्यक्त गरेका छन ।

भारतमा संक्रमणको गति सबैभन्दा प्रभावित अमेरिका र ब्राजिलभन्दा पनि तीब्र भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन । भारतमा अमेरिका र ब्राजिलभन्दा दुईगुना अर्थात ३ दशमलव ३ प्रतिशतले संक्रमण बढिरहेको छ । अमेरिकामा यो दर १ दशमलव ८ र ब्राजिलमा १ दशमलव ९ प्रतिशत छ ।

विश्वमा सबैभन्दा बढी वृद्धिदर ४ दशमलव ७ प्रतिशत अफ्रिकामा रेकर्ड भएको छ । जोधपुर आईआईटीका पूर्व प्रोफेसर रियो एम जाँनका अनुसार भारतमा संक्रमणको वृद्धिदर गंभीर स्थितितिर बढिरहेको देखिएको छ । आम रुपमा संक्रमण रोग विशेषज्ञहरुले कोरोना पिक अवस्थाको कुरा गरिरहेका छन ।

अमेरिका र ब्राजिलमा निकै हदसम्म पिक देखिइसकेको पनि विशेषज्ञहरुको दावी छ । तर भारतमा अझै पिकको अवस्थालाई लिएर स्थिति स्पस्ट भइनसकेको बताइएको छ । अहिले सबैभन्दा बढी दैनिक औसत बिरामी अमेरिकामा ५२ हजार दुई सय २१, ब्राजिलमा ३० हजार ६ सय २८ र भारतमा २३ हजार ८४ केस रेकर्ड भएको छ ।

यस्तै मृत्यु दरमा सबैभन्दा अगाडि ब्राजिल देखिएको छ । ब्राजिलमा दैनिक औसात आठ सय २५, अमेरिकामा ६ सय एक र भारतमा दैनिक पाँच सय ४९ जनाको मृत्यु भइरहेको छ । प्रो रियो एम जानका अनुसार पाँच पाँच दिमा तथ्यांकलाई गणितीय आंकलनका आधारमा वद्धिदर तय गर्ने गरिएको छ । विशेषज्ञहरुका अनुसार भारतमा कोरोना टेस्ट पोजेटिभ दर ९ दशमलव ३४ प्रतिशत छ । २१ औँ दिनमा कोरोना संक्रमितको दर दुईगुना भइरहेको छ । तर दिल्लीमा २० दिनको तथ्यांक हेर्दा संक्रमितको संख्या निकै घटेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतका ३५ प्रभावित राज्यमध्ये २७ राज्यमा एक हजार भन्दा बढी संक्रमित भेटिइसकेका छन । तर मणिपुर एक मात्र यस्तो राज्य हो जहाँ एक हजारभन्दा बढी संक्रमित भएर पनि एक जनाको पनि मृत्यु भएको छैन । त्रिपुरा राज्यमा १७ सय ७८ संक्रमित पुग्दा पनि एक जनाको मात्रै मृत्यु भएको छ ।

भारतको अवस्था
भारतमा हालसम्म ७ लाख ९३ हजार ८ सय ३ जनामा कोरोना संक्रमण फैलिएको छ । त्यसमध्ये ४ लाख ९५ हजार पाँच सय १६ जना निको भइसकेका छन । हालसम्म भारतमा २१ हजार ६ सय ४ जनाको मृत्यु भइसकेको छ ।

विश्वको दृश्य
विश्वमा शनिबारसम्म एक करोड २६ लाख २५ हजार एक सय ५६ जना सक्रमित भएका छन । त्यसमध्ये ५ लाख ६२ हजार ७ सय ६९ जनाको मृत्यु भएको छ भने ७३ लाख ६१ ह्जार ४ सय ५४ जना निको भएर घर फर्किएका छन । एजेन्सी