वाईडबडी खरिदबारे नागरिक आयोग गठन गर्ने चेतावनी, धर्मपरिवर्तन गर्न स्वयम सरकार लागिपरेको छ : न्यौपाने

काठमाडौं । ‘नेपालका लागि नेपाली’ अभियानले भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्यलगायतका १५१ बुँदे माग अघि सार्दै एक हप्ताभित्र वाइडबडी जहाज खरिद प्रकरणबारे प्रभावकारी छानविन आयोग नबनाए नागरिक आयोग गठन गर्ने चेतावनी दिएको छ ।
शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर अभियानले सरकारलाई यस्तो चेतावनी दिएको हो । अभियानका अभियान्ता डा.सुरेन्द्र भण्डारीले वाइडबडी खरिद प्रक्रियामा ठूलो भ्रष्टाचार भएको खबर आइरहेको बताउँदै यसकाबारेमा एक हप्ताभित्र प्रभावकारी छानबिन आयोग गठन गर्न सरकारसँग माग गरे ।

उनले भने, ‘वर्तमान सरकार जनताप्रति उत्तरदायी बन्न सकेन, असुरक्षा, हिँसा, बलात्कार, अपहरण, भ्रष्टाचारले सीमा नाघेको छ, यो बेलामा पनि हामी जनताले स्वस्फुर्त रुपमा अन्यायको बिरोध गर्न सकेनौं भने देशको भविष्य ठीक हुँदैन, समाज दुर्गतिको बाटोमा जान्छ।’
भण्डारीले बहुलजाति र धर्मको रुपमा रहेको मुलुकको शान्ति, एकता र भातृत्वजस्ता विरासत वर्तमान सरकारले धरापमा पार्ने काम गरेको गम्भिर आरोप लगाए ।

आफूहरुले ०५२ सालमा तत्कालिन् माओवादीले सूरु गरको कथित द्वन्द्वको बेलामा कब्जा गरिएको सम्पति फिर्ता गर्नुपर्ने, मदन भण्डारीका हत्यारा पत्ता लगाएर सार्वजनिक गर्नुपर्ने, वाइडबडी खरिदको बारेमा सशक्त छानविन आयोग बनाउनुपर्ने, असमान सन्धि–सम्झौताहरु खारेज गरि समयसापेक्ष विदेश नीति बनाउनुपर्ने, राष्ट्रिय उदार अर्थतन्त्र विकास गर्नुपर्ने, स्वास्थ्य, शिक्षालगायतका मागहरु अघि सारेको सुनाए । उनले आफूहरुको मागप्रति सरकार गम्भिर बन्नुपर्ने धारणा राखे । ‘यदि सरकार गम्भिर बनेन भने यसको परिणाम ठिक हुँदैन’, उनले भने ।
त्यस्तै कार्यक्रममा अभियानका अर्का अभियान्ता तथा अधिवक्ता बालकृष्ण नेउपानले नेता र उनीहरुको आफन्तहरुको नाममा अकुत सम्पत्ति रहेको भन्दै तत्काल छानबिन गर्नुपर्ने माग गरे ।

नेउपानेले सत्तारुढ दल (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र तीनका आसेपासे, नेपाली काँग्रेसका नेतालगायत उनीहरुका पत्नी र नातपातका नाममा भएको अकुत सम्पतिको छानविन गर्न माग गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत अन्य १५ सय जोडी ईसाईको आर्शिवाद लिन लाईनमा बसेको देखिएको उनको भनाइ छ । उनले भने, ‘धर्मपरिर्वतनमा स्वयम् हाम्रो सरकार लागेको छ, सत्ता, शक्ति र सम्पतिको चरम रुपमा दुरुपयोग भएको छ ।’

नेउपानेले मदन भण्डारीको हत्यारा अहिलेसम्म किन पत्ता लगाउन नसकेको भनेर वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई प्रश्न गरे । उनले अघि थपे, ‘२०५० साल जेठ ३ गते दासढुङगा दुर्घट्नामा परि निधन भएका मदन भण्डारीलाई तत्कालिन् माले एमालेले रहस्यमय हत्या भनेर रेलिङ भाँचे, सडक ततायो, त्यतिवेला वर्तमान प्रधानमन्त्री ओली केन्द्रीय सदस्य हुनुहुन्थ्यो, कांग्रेसको सरकार थियो, मदन भण्डारीको सुनियोजित रुपमा हत्या गरिएको भनेर ओलीजीले नै भन्नुभएको थियो ।

यतिसम्म की उहाँहरुले हामीले हत्यारा पत्ता लगाईसकेका छौं, कांग्रेस हत्यारा सार्वजनिक गर्न चाहन्न, हामीलाई सत्तामा पुर्याउनुहोस् भन्दै राजनीति गर्नुभयो, तर आज उनै भण्डारीकी पत्नी राष्ट्रपति हुनुहुन्छ, ओली प्रधानमन्त्री छन्, यो बेला किन भण्डारीको हत्यारा सार्वजनिक गरिँदैन ?’

अभियानले प्रधानमन्त्री ओलीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ, ‘बलात्कारी, भ्रष्टचारी र राजनीतिक संरक्षणमा गुण्डागर्दी गर्नेहरुलाई सरकारले कानुनको दायरामा ल्याई कारबाही गर्नसमेत चासो देखाएको छैन् ।’