काँग्रेस नेता डा महतले भनेः कोरोना यिन्त्रणमा सरकार असफल भइसक्यो

पत्रकारको हातमुख बन्द गर्ने मिडिया हाउसको ढोकामा ताल्चा लगाउने महासंघको चेतावनी, सिटिजन्स बैंक र आईएमएस ग्रुपको सहयोगमा युनियनद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशसरण महतले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा सरकार पूर्ण असफल भएको जिकिर गरेका छन । नेपाल प्रेस युनियनले कोरोना महामारीको बेला अग्रपंक्तिमा खटिने सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै डा महतले सरकारको संबेदनाहीन व्यवहारका कारण परिस्थिति झन भयावह बन्दै गएको बताए ।

उनले अहिले एकातिर करोना महामारी र अर्कोतिर आर्थिक शंकट देखिएकाले यस्तो गम्भिर परिस्थतिमा सञ्चारगृहहरुले पत्रकार तथा कर्मचारीलाई जागिरबाट निकाल्नु, बेतलबी बस्न बाध्य पार्नु वा पारिश्रमिक कटौटी गर्नु अत्यन्त दुर्भाग्यपूर्ण र निन्दनीय भएको बताए ।

‘यस्तो बेला एक जना पत्रकारलाई पनि सञ्चारगृहरुले बेरोजगार बनाउन मिल्दैन,’ नेपाल प्रेस युनियका अध्यक्ष बद्री सिग्देलको सभापतित्वमा युनियनको प्रकाशन विभागले गरेको कार्यक्रममा महतले भने, ‘पत्रकारले खाइपाइ आएको तलब घटाउने होइन, महामारीमा खटिने पत्रकाहरुलाई थप सुविधा दिनुपर्छ ।’ सञ्चारगृहरुले तबल दिन नसकेका पत्रकारहरुको जागिरको सुनिश्चिता गराउन सरकारले पहल गर्नुपर्नेमा सरकार झन निस्फिक्रि भएको उनको भनाइ थियो ।

अहिलेको संकटको बेला सरकार, उद्यमी, व्यवसायी, रोजगारदाता सबैले नाफा भन्दा पनि आ–आफनो क्षेत्रबाट दायित्व बहन गर्नुपर्नेमा सरकार आफ्नो दायित्वबाट पञ्छिन खोजको उनले आरोप लगाए । ‘सरकार यतिसम्म निकम्मा छ कि, स्वास्थ्यमन्त्री तथा सरोकारवाला व्यक्तिहरु अहिलेसम्म एक पटक टेकु अस्पताल समेत जान सकेका छैनन ।’

काँग्रेसले गठन गरेको कोरोना अनुगमन विशेष समितिको संयोजक समेत रहेका महतले भने, ‘हामी टेकु अस्पताल पुग्दा अस्पताललाई सरकारले नै बेवास्ता गरेको देखियो । यतिसम्म कि स्वास्थ्यमन्त्री तथा मन्त्रालयबाट एक जना प्रतिनिधि समेत अस्पताल जान डराएको देखियो ।’

संकटको बेला सरकारले जनतालाई राहत दिनु पर्नेमा सरकार उल्टै आफू कसरी सत्ता लम्ब्याउने भन्नेमा व्यस्त रहेको उनले चर्चा गरे । ‘लकडाउनको बेला सरकार आफू कसरी सत्तामा टिकिरहने भनेर अनेक राजनीतिक तिकडममा लागेको छ, सत्तापक्षकै केही व्यक्ति सरकारले काम गर्न नसकेकोमा बिरोध भन्दा पनि आफूले खान नपाएर सरकार ढाल्न तम्सिएको देखिन्छ ।’ सञ्चारकर्मीहरु अप्ठयारोमा हुँदा समेत सरकारले स्वतन्त्र पत्रकारिताको मर्ममै प्रहार गरेको महतको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले कोरोना संक्रमणको बेला पत्रकारहरुको रोजीरोटी खोस्ने सञ्चारगृहका कार्यालयमा महासंघको अगुवाइमा ताला लगाउने तयारी भएको बताए । उनले भने, ‘पत्रकारको मुख बन्द गर्ने सञ्चारगृहहरुको मुख कसरी बन्द गर्नु पर्छ ? त्यो हामीलाई पनि थाहा छ ।’ नेपाली पत्रकारहरुलाई समस्यामा पार्नेहरुलाई अन्तर्राष्ट्रिय रुपमा कसरी अप्ठेरोमा पार्न सकिन्छ भन्ने विषयमा महासंघले पहल गरिसकेको पनि उनले बताए । पत्रकारहरुको जागिर खोस्ने सञ्चारगृहहरुलाई विज्ञापन नदिन विज्ञापनदातालाई समेत महासचिव बिष्टले अपिल गरे ।

‘पत्रकारहरुलाई बेरोजगार बनाउने सञ्चारगृहरुलाई अनुदान दिएका अन्तर्राष्ट्रय संस्थाहरुलाई अनुदान रोक्न आग्रह गछौ,’ महासचिब विष्टले भने, ‘पत्रकारहरुको जागिर खोस्ने सञ्चारगृहविरुद्ध संयुक्तराष्ट्र संघ, आइएलओ तथा अन्तराष्ट्रिय पत्रकार महासंघसम्म पुग्छौ । हामीले त्यसका लागि जानकारी पत्र समेत पठाइसकेका छौँ ।’

संकटको बेला सरकारले पत्रकारिता क्षेत्रलाई पूरै वेवास्ता गरेको बताउदै उनले भने, ‘सरकारले संकटका बेला पनि पत्रकारहरुलाई राहत दिएन ।’ सञ्चारगृहहरुले पत्रकारहरुलाई तलब दिन तयार भएमा त्यसको मध्यस्तता गर्न महासंघ अग्रसर रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल प्रेस युनियका अध्यक्ष बद्री सिग्देलले संकटकोे बेला सञ्चारगृहहरुले पत्रकारहरुमाथि अमानवीय व्यवहार गरेको बताउदै जागिरबाट हटाइएका पत्रकारहरुलाई तत्काल पुनर्वहाली गर्न चेतावनी दिए । ‘संकटमा परेका पत्रकारहरुलाई सरकारले राहत दिनु पर्नेमा उल्टै पत्रकारहरुले दुःख पाएकोमा खुचिङ गरेर बसेको छ,’ सिग्देलले भने, ‘सरकार मिडिया विरोधी देखिएको छ ।’

जागिरबाट निकालिएका र तलब नपाएका पत्रकाहरुको समस्या सम्बोधन गर्न नेपाल प्रेस युनियनले सुरुदेखि नै सम्बिन्धत क्षेत्रको ध्यानाकर्षण गराएको बताउदै भने, ‘यसकोलागि सुरु गरिएको आन्दोलनमा हाम्रो पूर्ण सहयोग रहन्छ । लोकतन्त्रको पक्षधर काँग्रेसको विशेष ध्यान जाओस भनेर पनि म अपिल गर्दछु ।’

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष तथा आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले अहिलेको संकटमा बेला बैंकको व्याजदर घटाउन, पुनर्कर्जा ९रिफाइनान्ससिङ० तथा पुनर्संरचनाको लागि आफूहरुले सरकारबाट अपेक्षा गरेको बताउदै भने, ‘तर सरकार हाम्रो प्रस्ताव लागु गर्न उदासिन भएको देखिन्छ । खाली हुन्छ, हुन्छ मात्र भन्छ, काम गर्दैन ।’

देशको अर्थतन्त्र बलियो बनाउन उद्यमी, व्यावसाय क्षेत्रको महत्वपूर्ण योगदान हुुने उनको भनाइ थियो । ‘तर उद्यमी, व्यवसायी नै बाच्न नसक्ने अवस्था आएमा अर्थतन्त्र कसरी जोगिने ?,’ उनले भने ।

अहिले आफूहरुले लगानी गरेको सबै उद्योग संकटमा रहेको बताउदै गुनासो गरे, ‘हामीले बैंकबाट ऋण लिएका हुन्छौ, बैंकलाई व्याज बुझाउन गाह्रो परेको छ । यस्तो बेला सरकारले व्याज दर घटाउन तथा पुर्नकर्जाको व्यवस्था गर्नु पर्छ ।’

सिटिजन्स बैंकका प्रतिनिधि अमित झाले संकटको बेला सामाजिक उत्तरदायित्व ठानेर आफ्नो बैंकले कोरोना कहरमा सहयोग गरिरहेको बताए । सामाजिक उत्तरदायित्व कोषबाट बैंकले हालसम्म देशभर ६१/६२ लाख रुपैयाँ खर्च गरेको उनले चर्चा गरे ।

‘अहिलेसम्म हामीले प्रत्येक प्रदेशमा ७÷७ लाख रुपैयाँ सामाजिक काममा खर्च गरेका छौ’, झाले भने, ‘यो सहयोग अझै जारी रहन्छ ।’ संकटको बेला पनि समाचार संकलन गरेर पत्रकारहरुले समाजलाई आफनो जिम्मेवरी निर्वाह गरेको उनले चर्चा गरे ।

कार्यक्रममा नेपाल प्रेस युयिनका महासचिव अजयबाबु शिवाकोटीले कोरना महामारीको बेला देशभर ३ हजारभन्दा बढी पत्रकारहरु बेरोजगार भएको बताए । उनले भने, ‘सञ्चारगृहबाट निकालिएका पत्रकारहरुमा ८० प्रतिशतभन्दा बढी पत्रकाहरु लोकतान्त्रिक विचारधाराका छन ।’ जागिरबाट निकालिएका पत्रकाहरुलाई राहत दिन नेपाली कांग्रेसले एउटा कोष खडा गर्नुपर्ने उनको सुझाव छ ।

प्रकाशन विभागकी संयोजक तथा केन्द्रीय सदस्य कल्पना शर्माले कोरोना संक्रमणको महामारीमा अग्रपंक्तिमा खटिने पत्रकारहरुलाई सहयोग गर्न पाएकोमा आफू खुशी भएको बताइन ।

पत्रकारहरुलाई उपलब्ध गराइएको स्वास्थ्य सामग्रीमा आईएमएस ग्रुप, सिटिजन्स बैंक इन्टरनेशनल तथा अल सर्जिकल सोलुसन प्रालिले सहयोग गरेको थियो । सहयोग सामग्रीमा प्रेस ज्याकेट, के एन ९५ माक्स, सर्जिकल माक्स, रिचार्ज कार्ड, सेनिटाइजर उपलब्ध गराइएको हो ।