काठमाडौंमा तीन जना कोरोना संक्रमितको मृत्यु, पछिल्लो २४ घन्टामा ७० जना संक्रमित, ४३१ निको भए

काठमाडौं । कोरोना संक्रमण भएका थप तीन जनाको काठमाडौंमा मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका दुई जना र सिन्धुपाल्चोकका एक जना रहेका छन । उनीहरुको उपचारका क्रममा काठमाडौंमै मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

यो सँगै कोरोनाबाट मृतु हुनेको संख्या ३८ पुगेको छ । गौतमका अनुसार दुई जनाको ललितपुरस्थित पाटन अस्पताल र एक जनाको काठमाडौंको सिनामंगलस्थित काठामाडौं मेडिकल कलेजमा मृत्यु भएको हो ।

गौतमका अनुसार काठमाडौं महानगरपालिका १० शंखमुलका ६० वर्षीय पुरुषको २६ असारमा मृत्यु भएको हो । फोक्सोमा पानी जमेको र मिर्गौलामा समस्या आएपछि उनी असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । १७ गते कोरोना पुष्टि भएका उनको २६ गते उपचारकै क्रममा मृत्यु भएको हो ।

त्यस्तै काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुषको सिनामंगलस्थित केएमी अस्पतालमा असार २५ गते मृत्यु भएको हो । उनी मिर्गौला रोगी भएको प्रवक्ता गौतमले बताए ।

सिन्धुपाल्चोकको पाँचपोखरी–६ का अर्का ४५ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको छ । गत २२ असारमा पाटन अस्पताल भर्ना भएका उनको २५ असारमा मृत्यु भएको हो ।

२४ घन्टामा ७० संक्रमित

पछिल्लो २४ घण्टामा ७० जनामा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६ सय ४८ नमुना परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ ।

चार सय ३१ जना निको

त्यस्तै गएको २४ घन्टामा चार सय ३१ जना निको भएर घर गएका छन । योसँगै निको हुनेको संख्या आठ हजार चार सय ४२ पुगेको छ ।