२४ मुलुकबाट २६ हजार नेपाली स्वदेश फर्किए

काठमाडौं । कोरोना महामारीका कारण विभिन्न मुलुकमा समस्यामा परेका २६ हजार तीन सय ९६ नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट भएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् । यीमध्ये सबैभन्दा धेरै युएईबाट पाँच हजार पाँच सय २६, कुवेतबाट पाँच हजार दुई सय ४३, साउदी अरेबियाबाट चार हजार ३०, मलेसियाबाट तीन हजार ५३ र कतारबाट दुई हजार आठ सय ८४ स्वदेश फर्किएका छन् ।

प्रदेशगत हिसाबले सबैभन्दा बढी वागमती प्रदेशका सात हजार ६ सय ६०, प्रदेश नं १ का पाँच चार सय ७८, प्रदेश नं ५ का चार हजार तीन सय ४१, प्रदेश नं २ का चार हजार तीन सय ४४, गण्डकी प्रदेशका तीन हजार तीन सय ५०, सुदूरपश्चिम प्रदेशका ६ सय ३७ र कर्णाली प्रदेशका पाँच सय ८६ नेपाल फर्किएका छन् ।

उद्धारका उडानका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्स तथा विभिन्न विदेशी एयरलाइन्सले चार्टर्ड उडान गरेका थिए । गत जुन ५ मा जजीरा एयरले पहिलो चार्टर्ड उडानमार्फत कुवेतबाट नेपाली ल्याएको थियो । यसपछि दुई नेपालीसहित विभिन्न मुलुकका एयरलाइन्सले चार्टर्ड उडान गरी नेपाली स्वदेश ल्याएका हुन् ।