धनगढी उपमहानगरमा सातवटा सडक निर्माणका लागि सम्झौता

धनगढी । धनगढी उपमहानगरपालिका क्षेत्रमा सडक निर्माणका लागि क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत आयोजना कार्यालय र निर्माण कम्पनीबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । क्षेत्रीय शहरी विकास आयोजनाका प्रमुख परिक्षित कँडरिया र निर्माण कम्पनी कालिका कन्ट्रक्सनका प्रतिनिधि प्रकाशचन्द्र खरेलले सडक निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौतापत्रमा निर्माण कम्पनीले निर्माणको काम २१ दिनभित्रै शुरु गर्ने र दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने उल्लेख गरिएको छ । एशियाली विकास बैंकको सहयोगमा सञ्चालनमा रहेको शहरी विकास आयोजनाअन्तर्गत पहिलो चरणमा धनगढी उपमहानगरपालिका क्षेत्रमा सात वटा सडक निर्माण हुने जनाइएको छ ।

पहिलो चरणमा दुई हजार सात मिटर लामो गुल्म–चर्च रोड, एक हजार तीन सय ८० मिटर लामो धनगढीको ट्राफिक चौराहादेखि–कैलाली नाला सडक, सात सय मिटर लामो हुलाकी सडक–क्याम्पस रोड–जाखोरताल सडक, तीन हजार ६ सय ५० मिटर लामो क्याम्पस रोड–चटकपुर सडक, आठ सय ७० मिटर लामो धनगढी–खुटिया स्याउले रोड, चार सय ३० मिटर लामो मालपोत रोड र एक हजार एक सय ५० मिटर लामो हसनपुर रोड निर्माण तथा स्तरोन्नति गर्न लागिएको जनाइएको छ ।

निर्माण कम्पनीसँग सम्झौता भएर सडक निर्माणको चरणमा प्रवेश गरिएको नगरप्रमुख नृपबहादुर वडले बताए । ‘यो धनगढीका बासिन्दाको विकासको सपना बोकेको आयोजना हो’, प्रमुख वडले भने । सम्झौता भएपछि सबै काम समयमा सम्पन्न हुनेमा विश्वस्त रहेको आयोजना कार्यालयका प्रमुख कँडरियाले बताए ।

यसअघि उक्त आयोजनाअन्तर्गत धनगढी उपमहानगरपालिकामा ४२ किलोमिटर सडक निर्माण र स्तरोन्नतिका लागि सन् २०१५ मा एक अर्ब ३५ करोड छुट्याइएको थियो । विविध कारणले समयमै उक्त आयोजनाको काम अघि बढ्न सकेको थिएन । यस बजेटबाट अहिले काम गर्दा साढे १० किमी सडक निर्माण हुनसक्ने जनाइएको छ । पहिलो चरणको कामको ठेक्का कालिका कन्ट्रक्सनले ६८ करोड पाँच लाख ९८ हजार ७ सय ४ मा पाएको छ ।