आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा अहिले वर्षा भइरहेको छ । केही दिन यता सक्रिय बनेको मनसुनका कारण देशका अधिकांश स्थानमा झरी परिरहेको हो ।

आज १ र २ बाहेकका प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ति प्रदेशमा रहेका नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्‍ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार सबैभन्दा बढी पोखरामा ३४.९ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै धनकुटामा २४.९, सिमरामा २३.२ मिलिमिटर वर्षा मापन गरिएको छ ।

केही दिनदेखि नेपालको मौसममा मनसुनी वायुको प्रभाव छ । हिजो साँझदेखि मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग बाट केही दक्षिणतिर सरेको छ । तर, मनसुन भने कायमै रहेकोले वर्षात् भने केही दिन हुनेछ ।