कोरोनाको नाममा चार्टर फ्लाईटमा पनि व्यापक कमिसनको खेल भयोः काँग्रेस कोरोना समिति

काठमाडौं । नेपाली काँग्रेसद्वारा गठित कोरोना समितिले चार्टर्ड उडानमा पनि व्यापक कमिसनको खेल भएको दावी गरेको छ । काँग्रेसका सहमहामन्त्री डा प्रकाशसरण महतको संयोजकत्वमा गठित समितिले तत्काल चार्टर्ड उडान बन्द गरेर सामाजिक दूरी कायम हुने गरि हवाई उडान सञ्चालन गर्न सरकारसंग माग गरेको छ ।

समितिले सरकार कोरोना नियन्त्रणमा पूर्ण असफल भइसकेको जिकिर पनि गरेको छ । समितिले आज गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले कोरोना महामारी नियन्त्रणमा सफलतापूर्वक नेतृत्व लिन नसकेको आरोप लगाएको हो ।

समितिले आज पार्टी मुख्यालय सानेपामा गरेको पत्रकार सम्मेलनमा ‘विभिन्न पक्षसँगको अन्तरक्रिया र अनुगमनका क्रममा मन्त्रालय कोरोना नियन्त्रणमा पूर्ण असफल भएको पाइएको’ समितिका संयोजक एवं सहमहामन्त्री डा महतले बताए।

‘प्रधानमन्त्री स्वयम् बेसार खाएर हाछ्यु गरे कोरोना निको हुन्छ जस्ता बेतुकका अभिव्यक्ति दिइरहनु भएको छ,’  डा महतले भने,  ‘यस्ता अभिव्यक्तिले सरकार कोरोना नियन्त्रणमा कत्ति गम्भीर छ भन्ने प्रष्ट हुन्छ।’

व्यवस्थित क्वारेन्टिन नहुँदा ती क्वारेन्टिन नै संक्रमणको केन्द्र बन्न पुगेको कांग्रेसको आरोप छ । लामो समयसम्म पनि क्वारेन्टिनमा बसेकाहरुको स्वाब परीक्षण नहुँदा जोखिम झन फैलिएको महले बताए ।

‘सरकारले दैनिक १० हजारको परीक्षण गर्छौं भनेको छ तर परीक्षणको दायरा घटाउँदै लगेको छ,’ डा महतले भने, ‘सरकार आफ्नै भनाइमा चुकेका छ ।’ रोनाले आर्थिक, सामाजिक, शैक्षिकलगायत क्षेत्रमा नराम्रो असर गरेको उनको भनाइ थियो ।