कर्णाली प्रदेशमा प्रदेश सांसदलाई पनि कोरोना, सङ्क्रमितको संख्या १७ सय नाघ्यो

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । दैनिक दर्जनौँ मानिसमा कोरोना संक्रमण देखिने गरेको छ । तर प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरका बजार तथा कार्यालयमा मान्छेको भीड भने कम देखिँदैन ।

नागरिकमा विगतको जस्तो कोरोना आतंक पनि घट्दै गएको छ । सामान्यतः कसैलाई देखिएमा आसपासका मान्छेहरुमा केही प्रभाव परे पनि अन्य व्यक्तिले यसलाई सामान्य रूपमा लिन थालेका छन् । कोरोना नहुँदै कडा भएको लकडाउन पछिल्लो समयमा खुकुलो भएको छ ।

मानिसमा कोरोना संक्रमणको त्रास घटेसँगै सङ्क्रमित हुने संख्या बढेको छ । बुधबार मात्रै यहाँ २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मंगलबार २७ जनामा सङ्क्रमण देखिएको थियो ।

मंगलबार संक्रमण पुष्टि हुनेमा प्रदेशसभाका एक सांसद समेत रहेका छन । हालसम्म कर्णालीमा १७ सयभन्दा बढीमा कोरोना पुष्टि भइसकेको छ । अहिले भारतबाट आएका मात्र नभई अन्य नागरिकमा पनि सङ्क्रमण देखिन थालेको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले सबै क्षेत्रको हेलचक्र्याइका कारण कोरोना समुदायस्तरसम्म फैलिएको बताएका छन । उनका अनुसार भारत तथा अन्य मुलुकबाट आएका मान्छेमा मात्र कोरोना देखिएको छैन, यो स्थानीय व्यक्तिमा पनि देखिन थालेको छ । यसमा सबै क्षेत्र, निकाय र व्यक्तिले सावधानी अपनाउनुपर्ने उनको सुझाव छ ।