सप्तरीमा युवाको हत्या गरेको आरोपमा सात जना पक्राउ

सप्तरी । सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिकामा –३ कचन्दाहाका ४२ वर्षीय त्रिभुवन रामको हत्या भएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । उनीहरु माथि अनुसन्धान भइरहे पनि नाम सार्वजनिक गरिएको छैन ।

हत्या आरोपमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक बाबुराम कार्कीले बताएका छन । सोमबार रातिदेखि बेपत्ता भएका रामको हत्या गरिएको अवस्थामा शम्भुनाथ नगरपालिका–३ स्थित मुतनी नदीमा मंगलबार साँझ शव फेला परेको थियो ।

शवको टाउको र चिउँडोमा चोट देखिएको, कानबाट रगत बगेको, छाती र कुहिनाको छाला घिसारेर ताछिएको अवस्थामा शव नदीबाट निकालेको प्रहरी निरीक्षक कार्कीले बताए ।

सोमबार दिउँसो इलाका प्रहरी कार्यालय रुपनीमा उनको र रासलाल पालबीच जग्गाको मोहीसम्बन्धी विवादमा छलफल भएको थियो । छलफलमा रामका हजुरबुवाकै पालादेखि मोही रहेको प्रमाण देखाएपछि रामको पक्षमा निर्णय भएको थियो ।

छलफल आफ्नो पक्षमा भएपछि खुशी हुँदै गाउँ फर्किएका राम आफ्ना चार साथीसँग सोमबार राति शम्भुनाथ नगरपालिका–३ नरहीमा पुगेर मासु, रक्सी खाएका थिए । सोही बेलादेखि राम बेपत्ता थिए ।

यसैगरी २०७४ फागुन २७ गतेको सामूहिक बलात्कारको घटनामा रामको उजुरीका आधारमा गाउँका चार जना कारागारमा थुनामा छन् । उनीहरुलाई जनही १० वर्ष कैद सजायको फैसला भएको छ । अन्य दुई जनाको हकमा मुद्दा मुल्तबी रहेको छ ।

प्रहरीले जग्गा विवादका पक्ष, बलात्कारको मुद्दामा कैदमा परेका पक्ष र सँगै रक्सी खाएका साथीलाई अनुसन्धानको दायरामा लिएको जनाएको छ ।