कोरोना कहरमा आसाको सञ्चारः विश्वभर करिब ७९ लाख व्यक्ति कोरोना संक्रमण मुक्त

एजेन्सी । विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड करिब ३७ लाख व्यक्तिमा करिब ७९ लाख व्यक्ति संक्रमण मुक्त भएका छन् ।

बिहीबार बिहानसम्म प्राप्त तथ्यांक अनुसार विश्वमा कोरोना भाइरसको संक्रमणबाट पाँच लाख ८६ हजार आठ सय २१ जना व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

हाल विश्वभरमा ५० लाख ३० हजार सात सय ७५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ५९ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको वुहान शहरबाट गत वर्षको डिसेम्बर अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार अमेरिकामा मात्र ३५ लाख ४८ हजार दुई सय १३ जनामा कोरोना भाइरसका संक्रमित भइसकेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ३९ हजार एक सय ६२ व्यक्तिको मृत्यु भइसकेको छ ।

दक्षिण अमेरिकामा २९ लाख ९३ हजार दुई सय ४१ भन्दा बढी संक्रमति छन् । यहाँ करिब १ लाख नौ हजारको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४१ लाख ५४ हजार ६ सय ८२ जना कोरोना संक्रमति छन् । यहाँ १ लाख ८९ हजार २४ जनाको मृत्यु भएको छ ।

युरोपमा २६ लाख ७ हजार पाँच सय २९ जना कोरोना भाइरस संक्रमित छन् भने १ लाख ९७ हजार चार सय ८० को मृत्यु भएको छ । एसिया ३० लाख ८९ हजार २०३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ७३ हजार एक सय १० जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ६ लाख २९ हजार ६१९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार आठ सय सात जनाको मृत्यु भएको छ । ओसियानामा १२ हजार एक सय ५५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक सय ३३ जनाको मृत्यु भएको छ ।