सुनसरीमा प्रहरी र तस्करबीच गोली हानाहान

दुई जना घाइते

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका–३ को सीमा क्षेत्र पानी ट्याङ्की नजिक गए राति प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ । दोहोरो भिडन्तमा परी दुई जना तस्कर घाइते भएका छन् भने तीन जना भागेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते हुनेमा देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव भएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिएका छन ।

घाइते भएका दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको छ । भारतीय क्षेत्रबाट बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र वनटेष्ट होण्डा साइन मोटरसाइकलमा भारतीय क्षेत्रबाट आएका तस्करलाई गोप्य सूचनाको आधारमा जेकजाँच गर्दा गोली हानाहान भएको प्रहरीको भनाइ छ ।

हतियार लिएर आइरहेको पाइएपछि प्रहरीले हतियार खोस्न खोजेपछि भारतीय तस्कर समूहले प्रहरीमाथि गोली चलाएको प्रहरी उपरीक्षक थापाले बताएका छन । सोही क्रममा झडप भएको हो ।

तस्करबाट प्रहरीले एउटा पेस्तोल, छ राउण्ड गोली र दुई वटा म्याग्जिन बरामद गरेको छ । तीन जना भारततर्फ फरार भएको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । घाइते भएका र फरार भएका तस्करी, लागुऔषधको कारोवार, हतियारको तस्करी, चोरीलगायत कार्य गर्दै आएको प्रहरीको भनाइ छ ।