अपडेटः नेकपा स्थायी कमिटी आइतबारसम्मका लागि स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक ११ बजेबाट अपराह्न ३ बजेसम्मका लागि सारिएको केही बेरमै पुनः आइतबार सम्मका लागि स्थगित गरिएको छ । नेकपा प्रचार तथा प्रकाशन विभाग उपप्रमुख सूर्य थापाले आज तीन बजेसम्मका लागि सारिएको भनिएको बैठक पुनः आइतबार ३ बजेसम्मका लागि स्थगित गरिएको कुरा ट्वीटमार्फत जनाएका छन ।

नेकपाको विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति हुन नसकेका कारण पटकपटक बैठक स्थगन हुँदै आएको छ । यसअघि गत असार २६ गते डाकिएको बैठक देशभर भइरहेको अतिवृष्टि र बाढीपहिरोले ठूलो क्षतिसमेत भएकाले सम्पूर्ण पार्टी पङ्क्तिलाई उद्धार एवं राहतमा लाग्न निर्देशन दिँदै आजसम्मका लागि स्थगन गरिएको थियो ।

अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेब गौतम लगायतले केपी ओलीको राजीनामा मागेपछि पार्टीमा विवाद बढेको हो । आन्तरिक विवाद मिलाउन शीर्ष नेताको छलफल चलिरहेकाले बैठक पटकपटक सर्दै आएको छ । नेकपा स्थायी कमिटीको पाँचौ बैठक यही असार १० गतेदेखि जारी छ ।