रेडक्रसद्वारा सेती प्रादेशिक अस्पताललाई स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण

धनगढी । नेपाल रेडक्रस सोसाइटीले धनगढी स्थित सेती प्रादेशिक अस्पताललाई व्यक्तिगत सुरक्षाका सामाग्री हस्तान्तरण गरेको छ ।

दि कोको–कोला फाउन्डेसनको सहयोगमा रेडक्रसले कोरोना भाइरसको संक्रमित व्यक्तिहरुको सेवामा २४ सै घण्टा परिचालित हुने स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरेको हो ।

कैलाली रेडक्रसका सभापति उत्तम जोशी, उपकोषाध्यक्ष गोविन्दप्रसाद जोशी, सदस्य रतन कठायत, कोको–कोला फाउन्डेसनका प्रतिनिधि सुभास दाहाल, नेरेसो केन्द्रीय कार्यालय प्राथमिक उपचार महाशाखाका राजु रावतलगायतको उपस्थितिमा बुट र कबर ५० सेट, सेनिटाइजर २५० थान, कोलोरिन ५ लिटरको ५० जार, साबुन १ हजार ८, एन नाइनटी फाइभ मास्क सय थान गरी १ लाख ६४ हजार बराबरको सुरक्षा सामग्री सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा हेमराज पाण्डेयलाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा रेडक्रस कैलाली शाखाका कर्मचारीहरू पनि उपस्थिति थियो । यसअघि पनि रेडक्रस कैलालीले भारतबाट स्वदेश आएकाहरुकोलागि स्वास्थ्य सुरक्षा सामग्री, क्वारेन्टिनमा बसेकाहरुका लागि झुल, बाल्टिन, साबुनलगायतका सामग्री हस्तान्तरण गरको थियो ।